काभ्रेपलाञ्चोकमा निरन्तर वर्षाका कारण नौ घर उच्च जोखिममा — OSNepal

काभ्रेपलाञ्चोकमा निरन्तर वर्षाका कारण नौ घर उच्च जोखिममा

LC (KTM) September 01, 2021 0

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिराको जोखिममा परेको छ । सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ । वडा नं ५ का अध्यक्ष राजकुमार गौतमका अनुसार बिरुवा टोलका भीमसेन गौतम, खारका युवराज गिरी, पोष्टराज गिरी, चेतुराज गिरी र नारायण गिरीको घर पहिराको उच्च जोखिममा छन् । त्यस्तै रुम्टिका मेहलाल गजमेर, झम्कप्रसाद चौलागाईँ, विशाल गौतम र मीनप्रसाद गौतमको घर पनि जोखिममा छ । ती घरको तलबाट पहिरा गएका कारण उच्च जोखिममा रहेकाले उनीहरु अहिले अन्यत्र बस्दै आएको वडाध्यक्ष गौतमको भनाइ छ ।

“घर जोखिममा परेपछि बसोबासमा समस्या भएकालाई सङ्घसंस्थाको सहयोगमा तारजाली वितरण गरिएको भए पनि पानी परिरहेका कारण काम गर्न सकिरहेको छैन”, उहाँले भन्नुभयो, “खार र रुम्टिगाउँ भूकम्प गएदेखि भूगर्भविद्हरुले उच्च जोखिममा रहेको बस्तीका रूपमा चित्रण गरेको छ ।” बस्ती वरिपरी पहिरा गएका कारण त्यहाँका ३५÷४० घरपरिवारलाई अन्यत्र सार्न पनि नसकिने र ढुक्कका साथ बस्न पनि नपाइने अवस्था रहेको उहाँले बताउनुभयो ।

पहिला पनि भूकम्प गएदेखि पहिराको जोखिममा रहेको सो बस्तीमा पछिल्लो समय मोटरबाटो खनेपछि पानी परेर झन् जोखिममा परेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर