कर्णालीमा एमालेका तीन सदस्यले रोजे नेकपा (एकीकृत समाजवादी) — OSNepal

कर्णालीमा एमालेका तीन सदस्यले रोजे नेकपा (एकीकृत समाजवादी)

Kesh Karki (USA) September 01, 2021 0

कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सदस्यले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् ।
प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवीओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा(एकीकृत समाजवादी) का पक्षमा सनाखत गर्नुभएको हो ।प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले तीनै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी दिनुभयो । उहाँले हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आवद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको बताउनुभयो । कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई ह्विप उल्लङ्घन गरेको आरोपमा पार्टीले कारवाही गरी पदमुक्त गरेको थियो ।

हाल कायम रहेका १६ मध्ये तीन जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको सङ्ख्या १३ मा झरेको छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२, नेपाली कांगे्रसका छ, राप्रपाका एक सदस्य छन् भने नवगठित नेकपा (एकीकृत समाजवादी)का तीन सदस्य भएका छन् । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।नेकपा (एकीकृत समाजवादी) रोज्नेमा मुगुबाट निर्वाचित शाही एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । रुकुम पश्चिमकी वली प्रदेशसभामा सामाजिक विकास समितिको अध्यक्ष र निर्वाचन आयोगमा दर्ता हुँदा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

त्यस्तै, रोकाया जुम्लाबाट प्रत्यक्ष निर्वाचित सदस्य हुनुहुन्छ । वलीले वैशाख ३ गते नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सच्याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर