नेपाली वैज्ञानिकले बनाए भूउपग्रह, प्रक्षेपण गर्ने तयारी



काठमाडौं । नेपाली वैज्ञानिकहरुले नेपाली भूउपग्रह बनाएका छन् । नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठले बनाएको नेपाली भूउपग्रह प्रक्षेपणको तयारी भइरहेको जनाइएको छ । नेपाली वैज्ञानिकले जापानमा तयार पारेको सो भूउपग्रह वैशाख दोस्रो साता अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण गर्ने तयारी भइरहेको छ । यद्यपी यस अघि गर्नु पर्ने परीक्षण भने पूरा भइसकेको छ ।

उनीहरुले डेढ वर्ष लगाएर नेपाल स्याटालाइट वान बनाएका हुन् । मास्केको नेतृत्वमा श्रीलंका र जापानको पनि नानो स्याटेलाइट बनाइएको छ । एक किलो तीन सय ग्राम तौल रहेको नेपालको भूउपग्रह तीन वर्षसम्म अन्तरिक्षमा घुम्ने छ । प्रत्येक दिन १० मिनेटसम्म नेपालमाथिको अन्तरिक्षमा रहने यस उपग्रहले पृथ्वीका तस्बिर पठाउने छ ।

यसले पठाएका तस्बिरमार्फत विपद् व्यवस्थापन, जलवायु परिवर्तनका असरलगायत गतिविधि अध्ययन गर्न सजिलो हुनेछ । अन्तरिक्षमा भूउपग्रह पठाउन सरकारले नास्टलाई एक करोड ८० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

सोहीअनुरुप वैज्ञानिकद्वय मास्के र श्रेष्ठले जापानमै बसेर भूउपग्रह निर्माण गरेका हुन् । नेपालका सयौं वैज्ञानिक अहिले अमेरिकाको नासामा कार्यरत छन् ।

Comment