OSNepal सोमबार, माघ १० २०७८

अस्पतालमा पालो कुरेर बसेका ५ जनाको मृत्यु, बिरामीको मृत्यु भएपछि बेड पाइन्छ भन्दै रातभर कुर्छन् बिरामी

अस्पतालमा पालो कुरेर बसेका ५ जनाको मृत्यु, बिरामीको मृत्यु भएपछि बेड पाइन्छ भन्दै रातभर कुर्छन् बिरामी

  • OSNepal
  • आइतबार, बैशाख २६ २०७८


अस्पतालमा पालो कुरेर बसेका  ५ जनाको मृत्यु,  बिरामीको मृत्यु भएपछि बेड पाइन्छ भन्दै रातभर कुर्छन् बिरामी
Reading Time: 4 minutes

काठमाडाैं – भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोना संक्रमितमध्ये शनिवार ५ जनाको मृत्यु भयो । मृतकका आफन्तको पीडा एकातिर छ तर भर्नाका लागि पालो कुरिरहेका ५ जना संक्रमितलाई भने अब बेड पाइन्छ कि भन्ने आशा जाग्यो । १ सातापछि ५ जना निको भएर शनिबार साँझ डिस्चार्ज भएपछि थप बेड खाली भए । त्यसपछि कुरेर बसेका संक्रमितलाई भर्ना गर्न सहज भयो ।

भेरी अस्पतालमा संक्रमितले भर्नाका लागि कसैको मृत्यु वा डिस्चार्ज कुर्नुपर्ने अवस्था छ । ‘हिजोदेखि बेड पाइन्छ कि भनेर कुरेरै अस्पतालमै बसियो । आइतवार बिहान भर्ना हुने पालो पाएको छु,’ ५० वर्षीय एक संक्रमितले भने । कोरोनाको पहिलो लहरमा जस्तो छिटो निको हुनेको संख्या यस पटक कम छ । बिरामीहरू लामो समय भर्ना गरेर राख्नुपर्ने अवस्थाका आउँछन् । स्वास्थ्य अवस्था जटिल भएर मात्रै अस्पताल आउने गरेकाले निको हुन धेरै दिन लाग्ने गरेको चिकित्सकले बताएका छन् ।

बर्दियाबाट रेफर गरिएका बाँसगढी नगरपालिकाका ५० वर्षीय पुरुष र उनकी संक्रमित श्रीमती शनिवार साँझसम्म बेड पाउने आसमा अस्पतालमै कुरेर बसेका छन् । उनीहरू कोरोना वार्डको बाहिरपट्टि पालोमा बसेका छन् । उनीहरूलाई यहाँसम्म गुलरिया नगरपालिकाको एम्बुलेन्सले ल्याएको हो । तत्काल बेड नपाएपछि उनीहरूलाई परिसरमा छाडेर एम्बुलेन्स फर्कियो । बेड नपाएर उनीहरू शनिबार दिनभरि छटपटिइरहे । श्रीमती आफ्नोभन्दा पतिको अवस्थाले चिन्तित देखिन्थिन् । बेड पाइएन भन्दै उनी घरीघरी उठ्दै आफन्तलाई सोध्दै थिइन् ।

‘दुवै जनालाई शनिवार गाह्रो भएपछि नेपालगन्जमा उपचारका लागि ल्याएको हो,’ भान्जा विपिन पौडेलले भने, ‘मामालाई सास फेर्न धेरै गाह्रो भएको छ । त्यसैले यहाँ ल्यायौं । तर, बेड पाइने कहिले हो, थाहा छैन ।’ संक्रमित दम्पतीका लागि अक्सिजन खोज्न आफन्तहरू भांैतारिरहेका थिए ।

नेपालगन्ज–९ की ६१ वर्षीया महिलालाई अक्सिजन चढाएरै अस्पतालमा ल्याइयो । कोभिड वार्ड पुर्‍याएपछि आफन्तले कहाँ र कसरी राख्ने भन्ने मेसो पाएनन् । उनीहरू अलमलमा परे । बिरामीको अवस्था जटिल छ भन्दै कोभिड वार्डमा पसे । ‘बिरामीलाई गाह्रो भइसक्यो । न डाक्टर छन्, न त अरू स्वास्थ्यकर्मी,’ नेपालगन्ज–८ का कैलाश कुँवरले भने, ‘अक्सिजन छैन भन्दै छन्, कताबाट खोज्ने हो थाहा छैन ।’

अहिले भेरी अस्पताल परिसरमा बेडको प्रतीक्षामा बसिरहेका थुप्रै संक्रमित भेटिन्छन् । अस्पतालका वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले कोरोना वार्ड मात्रै होइन, जनरल वार्ड पनि संक्रमितले भरिइसकेको बताए । ‘यो अवस्थामा कसरी बिरामी भर्ना लिने ?’ उनले भने, ‘भर्ना भएका संक्रमितको उपचारमा लामो समय लाग्ने भएकाले बेड अभाव भएको हो ।’

एउटै संक्रमित २२ दिनसम्म निको हुन नसकेको उनले बताए । ‘स्थिति गम्भीर भएपछि उपचार गराउन आउनेहरू बढी छन् । १ सातामा ५/७ जना निको भएर घर गइरहेको देखिन्छ,’ उनले भने, ‘बेड खाली हुनका लागि डिस्चार्ज हुनेहरूको संख्या बढ्नुपर्छ ।’

जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्रले दैनिकजसो सयौं व्यक्ति कोरोना जितेर घर फर्किरहेको सूचना सार्वजनिक गर्दै आएको छ । ‘त्यो त होम आइसोलेसनमा बस्नेहरूको हकमा होला । त्यस्तो समाचारले कोरोना केही पनि होइन भन्ने गलत सन्देश दिइरहेको छ,’ डा. रिसालले भने, ‘अस्पतालहरूको हकमा फरक छ ।’ दैनिक रूपमा अवस्था गम्भीर भयो भन्दै एक्कासि आउँदा अस्पतालमा बिरामी थेग्न असहज भएको छ । ‘बेड छ कि छैन, बस्ने अवस्था नबुझी जटिल अवस्थाका बिरामी लिएर आउनुहुन्छ,’ अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले भने, ‘कोभिड वार्ड पूरै भरिएको छ । कसलाई पठाएर कसलाई भर्ना गर्नू ? धेरै समस्यामा छौं ।’

अस्पतालको इमर्जेन्सी वार्डमा समेत कोभिडका बिरामी राखिएको छ । कतिपयको अवस्था गम्भीर छ तर अस्पतालले उनीहरूलाई चाहेर पनि कोभिड वार्डसम्म लैजान सकेको छैन । होम आइसोलेसनमा बसेकाहरू नै अवस्था जटिल बनेपछि मात्र अस्पताल आउने क्रम बढेको छ । भेरी अस्पतालमा १४२ बेड बढाएर ३०० हाराहारीमा पुर्‍याइएको छ । अधिकांश बिरामीको मृत्युपछि मात्र अर्का बिरामीले बेडको पालो पाउने गर्छन् । ‘बल्लतल्ल बेड पाइयो,’ आफन्तलाई लिएर आएका नेपालगन्जका राजन रानामगरले भने, ‘भर्ना गर्न बेड नै नपाइने कस्तो दिन आयो ?’

कोहलपुरको नेपालगन्ज शिक्षण अस्पतालले कोरोना वार्डमा अक्सिजन अभाव भन्दै संक्रमितलाई भर्ना लिन बन्द गरेको छ । कोभिड वार्ड खाली भए पनि भर्ना गर्न सक्ने अवस्था नरहेको अस्पतालका कोरोना स्रोत व्यक्ति डा. दिनेश श्रेष्ठ बताए । उनका अनुसार भर्ना गरिएका जटिल अवस्थाका बिरामीको दैनिक मृत्यु हुने गरेको छ ।

अस्पतालमा १०६ जना कोरोना संक्रमित बिरामी उपचारका लागि भर्ना छन् । तीमध्ये २९ जनाको अवस्था जटिल छ । अक्सिजन अभाव भन्दै अस्पतालले भेन्टिलेटर बन्द गरेको छ । ‘हामीसँग २ वटा भेन्टिलेटर छन् तर अक्सिजन अभावले प्रेसर गर्न नसक्दा बन्द छ,’ उनले भने, ‘अक्सिजनको मात्रा हेरेर मात्रै बिरामी भर्ना गर्न सकिन्छ । बेड गनेर भर्ना गर्न सकिँदैन ।’

संक्रमित व्यक्तिहरू निको हुने समय बढी लाग्ने गरेका कारण कोरोना वार्ड खाली हुन नसकेको हो । अस्पताल भर्ना हुन खोज्ने संक्रमितलाई अस्पतालले फिर्ता गर्दै आएको छ ।

‘जटिल अवस्थाका बिरामीलाई अस्पताल भर्ना भएको १५ देखि २२ दिनसम्म राख्नुपरेको छ । त्यसैले नयाँ भर्ना नलिएर भएको अक्सिजन पहिले नै आएका बिरामीलाई दिने गरिएको छ,’ कोरोना स्रोत व्यक्ति डा. श्रेष्ठले भने, ‘संक्रमितहरूको मृत्यु भएपछि बेड खाली हुन्छ तर अक्सिजनबिना त्यो बेडमा भर्ना लिन मिलेको छैन ।’ उनका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितहरू ४/५ दिनमै निको हुने गरेका छन् तर त्यो संख्या एकदमै कम छ ।

लुम्बिनीमा पनि उस्तै

शनिवार दिउँसो रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको ढोकासम्म संक्रमितले भरिएको थियो । कोही भर्ना भएका बिरामीलाई अक्सिजन जुटाउन हारगुहार गर्दै थिए । कोही भर्नाका लागि बिन्ती बिसाउँदै थिए । अस्पतालको भुइँ र बरन्डासमेत संक्रमितले भरिएपछि अस्पतालले बिरामी भर्ना लिन छाडेको थियो ।

बुटवल–११, देवीनगरका लक्ष्मण पासी अस्पतालको गेटमा अटोरिक्सामा पल्टिएका थिए । आफन्तले जोहो गरिदिएको अक्सिजन सकिनसकी लिँदै थिए । अस्पतालभित्र छिर्न पाए बाँच्ने आसमा बेलाबेलामा आँखा खोल्थे । निराश हुँदै आफैँ आँखा बन्द गर्थे । छोरा बद्री भर्नाका लागि चिकित्सकसँग बिन्ती बिसाउँदै थिए । पत्नी र बहिनी बिरामीलाई सम्हाल्दै थिए । ‘खोइ भर्ना पाइएलाजस्तो छैन,’ बद्रीले भने, ‘आफैं भित्र पसेर पनि हेरें, भुइँ पनि खाली देखिनँ । बचाउने आशा हराउँदै छ ।’

बद्रीले बिहान ५ बजे रिक्सा चलाउँदै बाबुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका थिए । अस्पतालले अक्सिजनमा राख्नुपर्ने बताउँदै भैरहवा लैजान सुझाव दिएको थियो । रिक्सा गुडाउँदै उनले भैरहवाको भीम अस्पताल र मेडिकल कलेज चहारे । कतै ठाउँ पाएनन् । त्यसपछि फर्काएर दिउँसो १ बजे फेरि अस्पतालमै ल्याएका थिए । गेटभित्र भएकाले स्वास्थ्यकर्मीले अक्सिजन लिने र ज्वरो नाप्ने काम गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

‘बुवा आत्तिइरहनुभएको छ । लौ न उपचार गर बचाऊ भन्नुहुन्छ,’ बद्रीले भने, ‘हामी विवश छौं । टुलुटुलु हेरेर एकछिन पर्खनूस् भनेर टारेका छौं ।’

तिलोत्तमा–४ डिंगरनगरका ६९ वर्षीय दलबहादुर खराल गाडीभित्रै अस्पतालमा भर्ना हुन पालो कुर्दै थिए । १४ दिनअघि कोरोना देखिएका उनी ओम शान्तिको आइसोलेसनमा थिए । छोरा विमलका अनुसार शुक्रबार च्यापेपछि तिलोत्तमाको अस्थायी कोरोना अस्पतालमा लगियो । अस्थायी अस्पतालले उपचार गर्न नसक्ने बतायो । बिरामी बोक्न एम्बुलेन्स पनि पाएनन् । नगर प्रमुख वासुदेव घिमिरे चढ्ने गाडीमा अक्सिजन सिलिन्डर जोडेर दिउँसो बुटवलको लुम्बिनी प्रादेशिकमा ल्याइएको थियो । छोरा विमलले भने, ‘डाक्टरले अक्सिजनसहितको आईसीयूमा राखेर उपचार गर्नुपर्छ भन्छन् तर हामीले अस्पतालको भुइँ पनि पाएनौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड