पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै, पिसाब रोकियो



काठमाडौँ – पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ। पहिलो पुस्ताका कम्युनिस्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाइ पुस २३ देखि अस्वस्थ भएपछी धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अधिकारीको बिगत २४ घण्टा देखि पिसाब समेत नभएको अस्पतालले जनाएको छ । विज्ञप्तिमा अस्पतालले अधिकारीलाई बचाउन गार्है पर्ने समेत उल्लेख गरेको छ।

करिब एक महिना मेडिसिटी अस्पतालमा राखेर उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएका अधिकारी श्वासप्रश्वास र निमोनियालगायतका समस्याले ग्रसित रहेका थिए । पछिल्लो समय स्वास्थ्य जटिल बन्दै गएपछि अधिकारीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका नेताहरु अस्पताल धाउन थालेका छन्। अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ ।