लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज सामान्य सुधार



काठमाडौँ, – लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०६ बिन्दुले बढेर एक हजार १०२.६४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७ बिन्दुले बढेर २३४.२५ बिन्दुमा पुगेको छ । कूल १७४ कम्पनीको सात लाख ३३ हजार ४२२ कित्ता शेयर रु २२ करोड ५२ लाख ३१ हजार ४४३ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर बढेको छ । व्यापार २.७ र अन्य उपसमूह ३.१५ बिन्दुले घटेको छ । यस्तै बैंकिङ २.०४, होटल ४.४१, विकास बैंक १.१५, जलविद्युत् ४.९८, वित्त ३.०५, निर्जीवन बीमा ३.०१, उत्पादन २८.६१, लघुवित्त ५.२८ र जीवन बीमा १२.१४ बिन्दुले बढेको छ । सामान्य बढेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.४४ प्रतिशत, सेन्ट्रल फाइनान्स ४.५९, गुर्खाज फाइनान्स लिमिटेड ३.८५ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.५३ प्रतिशतले कमाएका छन् । यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ७.९३, घलेम्दी हाइड्रोपावर लिमिटेड ४.९७, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ४.७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.२२ र मिथिला लघुवित्त वित्तीय संस्था ३.४४ प्रतिशतले गुमाएका छन् ।

यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड २६ लाख १६ हजार ११४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ८७ लाख ५३ हजार ६०० र एनआइसी एशिया बैंकको रु एक करोड २० लाख ८२ हजार ४४१ बराबरको कारोवार भएको छ । यस्तै, स्टकमा आज लाइफ इन्स्योरेन्स कम्पनी नेपालको मूल्य समायोजन भएको छ । कूल १२ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता रु एक हजार ४३२ मा मूल्य समायोजन भएको हो । सो कम्पनीको औसत शेयर मूल्य रु दुई हजार १०३ रहेको छ । यसैगरी मेगा बैंक लिमिटेडको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांश स्टकमा सूचीकृत भएको छ ।