काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्छ – नेता पौडेल



चितवन, २१ असार – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गर्नुभयो । राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो ।

यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।” उहाँले ७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको छ भन्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपाल विद्यार्थी सङ्घ गुटमा लाग्न नहुने सुझाव दिनुभयो । नेविसङ्घ स्वचालित हुन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।” नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा काङ्ग्रेसका केन्द्रीय सदस्य बद्रि पाण्डेले प्रशिक्षण दिनुभएको थियो । (रासस)

Comment