लमजुङको सुन्दर आकाशे छहराले पर्यटक तान्दै — OSNepal

लमजुङको सुन्दर आकाशे छहराले पर्यटक तान्दै

LC (KTM) September 16, 2021 0

लमजुङ, ३१ भदौ- डुम्रे–बँेसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा । बेँसीशहर नगरपालिका– १ दलालमा अवस्थित सो छहरको फेंदीको सुन्दर पोखरी । असी मिटर उचाइँबाट झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणी । यही इन्द्रणीको अनुपम दृश्यावलोक गर्न पर्यटकको गन्तव्य बनेको छ ।

छहरा हेर्दै फुरुङग बनेका पर्यटक कोही धमाधम फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । कपडा खोलेर चिसोपानीमा डुबुल्की नमारी त कहाँ धित मर्छ र ? उहाँहरु छहराका फेँदमा बनाइएको पोखरीमा घण्टौं रमाउँछन् पनि । साथीहरुबीच एकापसमा पानी छ््यापाछ्याप गर्नु र पौडिएर माछा जस्तै पोखरीमा ओहोरदोहोर गर्नुको मज्जा कति–कति ! यसवर्ष कोरोना महामारीका कारण बाह्य पर्यटक ठप्प छन्, विगतमा भने यहाँ पदमार्गमा आउने विदेशी पर्यटकसमेत दिल खोलेर रमाउने गर्दथे । सडकमा गुड्ने सवारीसाधनसमेत छहरा छेवैमा आइपुगेपछि एकछिन रोकिने र यात्रुहरु त्यहाँको प्राकृतिक सुन्दरता नियाल्ने प्रयास गर्दछन् ।

यस झरनामा दैनिक २५० को हाराहारीमा आन्तरिक तथा विदेशी पर्यटक आउने गरेका छन् । शनिबार र बिदाका समयमा भने दोब्बर नै आउँछन् । यस झरनामा जिल्लासहित छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । झरनाको शीतलतासँगै फेल्फी खिच्दा मन चङ्गा जस्तै हुने पर्यटक सिर्जना श्रेष्ठले भन्नुभयो । खुदी भुलभुलेका रामबहादुर थापाले भन्नुभयो “घरमा बसेर दिन बिताउन कठिन हुन्छ । यहाँ आएर झरनासँग रमाउदा दिन बितेको पत्तोनै हँुदैन, झरनामा भिज्दा आनन्दको आभास हुन्छ । ”

राइनास नगरपालिका– ८ की गोमा जिनी नेपालीले भन्नुभयो, “झरनामा रमाउन मन लाग्छ अनि साथीहरुलाई पनि सँगै ल्याएर रमाउने गरेको छु ।” साथीहरु यस झरनामा आउँदा रमाइलोे महसुस गर्ने गरेको उहाँले बताउनुभयो । यस झरनामा बर्सेनि आउने गरेको र अन्य साथीलाई पनि झरनाको स्वाँद लिनलाई आग्रह गर्ने गरेको उहाँको भनाइ छ । सो झरनाले नयाँनयाँ व्याक्तित्वबीच परिचित गर्ने मौकासमेत सिर्जना गरिदिएको छ ।

आन्तरिक पर्यटक मात्र नभइ विदेशी पर्यटकसमेत आउने र यसवर्ष कोरोनाको त्रासले विदेशी पर्यटक भने नआएको स्थानीयवासी कृष्णराज ओलियाले जानकारी दिनुभयो । साहसी खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ । बेँसीशहर नगरपालिकाले पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि अन्य सङ्घ संस्थासँग मिलेर काम जारी राखेको छ । नगर प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले झरनालाई पर्यटकको आकर्षणको केन्द्र बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरी सकेको छ । नगरपालिकाको रु ६ करोड ६८ लाख लागतमा सो झरनालाई व्यवस्थित बनाउनका निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको नगर प्रमुख अर्याललको भनाइ छ ।

मस्र्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तरता झार्ने, झरना तल पोखरी निर्माण गर्ने र पार्किङस्थल बनाउने भएको छ । त्यस्तै सो झरनामा क्यानोनिङ तथा जलयात्रा समेत सञ्चालन गर्ने उहाँको भनाइ छ । चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यस बाटो हुँदै जाने विदेशी पर्यटकसमेत आकर्षित हुने अपेक्षा नगरपालिकाको छ ।

सो झरना बर्सेनि असारदेखि असोज महिनामा झर्ने गर्दछ । झरनामा आउने पर्यटकलाईमध्ये नजर गर्दै नजिकै रेष्टुराँसमेत सञ्चालन गर्न थालेका छन् । झरना थप व्यवस्थित भएमा पर्यटकको आकर्षण झरना हुनसके पर्यटक आएमा व्यापार व्यवसायसमेत हुनेहुँदा स्थानीयवासीलाई आयआर्जनको पाटोसमेत हुने स्थानीयवासी कृति बानियाँको भनाइ छ । उहाँले भन्नुभयो । “प्रकृतिले दिएको उपहारको सदुपयोग हामीले गर्नसक्नुपर्छ । ”

त्यस्तै, चक्रिय अन्नपूर्ण पदमार्गको छेउमैपर्ने मस्र्याङ्दी गाउँपालिकाको हामफाले (भूलभूले) झरनालेसमेत आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ । यस झरनामा जिल्लाका बेँसीशहर, खुदी, चनौटेलगायत दर्जनौं स्थानबाट मात्र नभइ बाह्य जिल्लाबाटसमेत झरनाको मनोरम दृश्य हेर्न आउने गरेका छन् । करिब ७० मिटरमाथिबाट पानी झरेको झरना नजिकै आन्तरिक तथा बाह्य पर्यटकका लागि तीन स्वीमिङ पुलसमेत बनाउन थालिएको छ ।

दुई वर्षअघि गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करिब रु १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे फललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । यस झरनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा थप पर्यटकको लागि उपयुक्त पर्यटकीय गन्तव्यमध्ये एक बनाउने तयारीमा गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“झरनालाई पर्यटकीय गन्तव्य बनाउका लागि आवश्यक रकम खर्च गर्नेछौं ।” त्यस्तै गाउँपालिका–४ मिप्रामा रहेको स्याग्रे झरनासमेत पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यस झरनामा समेत सयौं युवायुवती पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । सोही वडामा रहेको अक्टोवस झरनालेसमेत पर्यटकको मन तान्ने गरेको छ । बेँसीशहर चामे सडकबीच सडकमै झर्ने झरनाको पानीले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउने गरेको छ । यी झरनामा मात्र नभइ जिल्लाका यस्ता दर्जनांै झरनाले पर्यटकको मन लोभ्याउने गरेको पाइन्छ । कोरोना सङ्क्रमणकाबीच पनि आन्तरिक पर्यटकले जिल्लाको विभिन्न झरनामा पुगेर रमाउने गरेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर