लामो र कडा चट्टानहरुभित्र बनेको गडहरे गुफाको भौगर्भिक अध्ययन — OSNepal

लामो र कडा चट्टानहरुभित्र बनेको गडहरे गुफाको भौगर्भिक अध्ययन

LC (KTM) September 16, 2021 0

वालिङ, ३१ भदौ-प्रचारप्रसारका अभावमा ओझेलमा परेको यहाँको गडहरे गुफाको विकासका लागि भौगर्भिक अध्ययन गरिएको छ ।स्याङ्जा भीरकोट नगरपालिका– ८ र ९ का सीमामा अवस्थित सो गुफाको भित्र तथा बाहिरी क्षेत्रको अध्ययन गरिइएको हो । सोे नगरपालिकाको पहल र त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा कविराज पौडेलको नेतृत्वको १२ जनाको टोलीले चार दिन लगाएर अध्ययन सम्पन्न गरेको हो ।

गुफा सम्भवतः नेपालकै सबैभन्दा लामो भएको हुनसक्ने भूगर्भविद डा पौडेलले दाबी गर्नुभयो । “गडहरे गुफा निक्कै लामो र यो कडा चट्टानहरुभित्र बनेको छ” उहाँले भन्नुभयो, “यो चट्टानबाटै सुरु भएर चट्टानमै पुगेर अन्त्य हुन्छ तसर्थः पनि यो गुफाको बनोट दह्रो छ, बलियो छ ।”गुफाभित्र ‘क्राष्टफिचर’ विभिन्न किसिमका आकृति मनमोहक र कलात्मक देखिएका छन् ।

“कुनै ठाउँमा फराकिलो कुनै ठाउँमा साँघुरो बाटो हुँदै झण्डै एक किलोमिटरभित्र पुगिसकेपछि एउटा नयाँ किसिमको झरना देखिन्छ” उपप्रध्यापक डा पौडेलले भन्नुभयो, “उक्त झरना त्यही गुफाभित्रै हराएको छ यो पनि एउटा आकर्षणको रुपमा छ ।”

अध्ययन टोलीले गुफाको भित्री, बाहिरी बनोटभित्र देखिने विभिन्न किसिमका आकृति तथा संरचना, गुफाको लम्बाइ, चौडाईमापन गरेको छ । गुफाभित्र र बाहिरको सम्बन्धित विषयमा अध्ययन सकिएकाले एक महिनाभित्रमा उक्त प्रतिवेदन नगरपालिकालाई उपलब्ध गराइने अध्ययन टोली प्रमुख डा पौडेलले जानकारी दिनुभयो ।

गुफाको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिसकेको नगरपालिकाले अध्ययनको विस्तृत प्रतिवेदन प्राप्त भएपछि त्यसकै आधारमा थप योजनासहित कार्यअगाडि बढाउने वडा नं ९ का अध्यक्ष भीमबहादुर गुरुङले जानकारीदिनुभयो । “धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचूर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा गुफा ओझेलमा परेको छ” उहाँले भन्नुभयो, “यसको प्रचारप्रसारसँग पूर्वाधारको विकास गरेर यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रकोरुपमा पहिचान दिनुपर्ने छ ।”

नगरपालिकाले राष्ट्रिय योजना आयोगको सङ्घीय समपुरक कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माण गरिरहेको योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारीदिनुभयो । गडहरे गुफा, ओखतीपानी, तमुनासा घरवास, ओकादी र फलाँटे ताल निर्माण कार्यको विस्तृत प्रतिवेदन प्रस्तावका लागि नगर विकास कोषमा पठाइएको उहाँले बताउनुभयो (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर