४ जनाको सिट क्षमता भएको जिपले १८ यात्रु बोकेपछि उकालोमा पल्टियो, १४ घाइते



धादिङ, साउन २८ । धादिङमा भएको जीप दुर्घटनामा परि १४ यात्रु घाइते भएका छन् । बा १३ च ५२३० नम्बरको जीप उकालो चढ्न नसकी पछाडि धकेलिँदा दुर्घटनाग्रस्त बनेको प्रहरीले जनाएको छ । धादिङबेसीबाट मैदीतर्फ जाँदै गरेको बा १३ च ५२३० नम्बरको जीप उकालो चढ्न नसकी पछाडि हटेर पल्टिँदा एउटै गाउँका १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका ज्वालामुखी गाउँपालिका वडा नम्बर २ की २८ वर्षीया लक्ष्मी श्रेष्ठ, ४० वर्षीय बिरबहादुर मगराती, ३५ वर्षीया बलमाया रानामगर र ५७ वर्षीय लोकबहादुर सामरीलाई थप उपचारका लागि काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ । चार जनाको सिट क्षमता भएको निजी नम्बर प्लेटको बोलेरो जीपमा १८ जना यात्रु चढाएका कारण ओभरलोडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Comment