विनाशकारी हावाहुरी ‘टोर्नाडो’ प्रभावितको घर निर्माणका लागी ३ हजार सेना खट्दै



काठमाडौं। नेपाली सेनाले बारा र पर्सामा गत १७ चैतमा आएको विनाशकारी हावाहुरी ‘टोर्नाडो’ प्रभावितको पुनर्वासका लागि घर निर्माण गरिरहेको छ । सेनाले ‘जनता आवास पुनर्निर्माण कार्यक्रम’अन्तर्गत विनाशकारी हावाहुरी प्रभावित परिवारका लागि ८८१ घर बनाइरहेको हो । जसमध्ये ५९४ वटा घर निर्माण पूरा भएको छ । सरकारले विपद् व्यवस्थापनअन्तर्गत गत २१ चैतमा हावाहुरीपीडितका लागि पुनर्वास व्यवस्था गर्न भन्दै सेनालाई घर निर्माण जिम्मेवारी दिएको हो ।

त्यस्तै, गत १० वैशाखको मन्त्रिपरिषद् बैठकबाट सरकारले घर निर्माणका लागि गत २६ साउनसम्मको समयसीमा तोक्दै आवश्यक रकमसमेत निकासा गरिसकेको छ ।सहायक रथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले ८८१ मध्ये ५९४ निर्माण सकिएको र बाँकी २८७ घरको काम विभिन्न चरणमा भइरहेको जानकारी दिए । सरकारले ‘जनता आवास कार्यक्रम’अन्तर्गत टोर्नाडोपीडितका घर निर्माणका लागि ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ सेनालाई निकासा दिएको हो ।

सैनिक प्रवक्ता पाण्डेले सरकारबाट गत २६ साउनसम्म निर्माण सक्नेगरी जिम्मेवारी पाए पनि बीचको समय राहत तथा उद्धारमा खटिएका कारण केही ढिला भएको र आगामी १५ भदौभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना रहेको बताए । पीडितको पुनर्वासका लागि घर बनाउन बारा र पर्सा गरी नेपाली सेनाका ३ हजार जनशक्ति खटिएका छन् । निर्माण सम्पन्न भइसकेका घरमा प्रभावित बस्दै आएका छन् ।

राजधानी दैनिकमा खबर छ ।तयार पारिएका घर वातावरणमैत्री तथा अग्नि प्रतिरोधात्मक रहेको सेनाले जनाएको छ । जस्तापाटा छानो लगाइएको घरमा पूर्ण ‘इन्सुलेसन’ राखिएकाले बाहिरको तापभित्र नपस्ने किसिमको छ । ती घरमा दुई कोठा, बरन्डासहितको भान्सा र शौचालय छ ।

Comment