राजनीतिसँगै बाख्रापालनमा लागेका यि वडाध्यक्षबाट केही सिक्ने की नेताहरुले ?



तनहुँ । भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल पनि राजनीतिसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । उहाँले बाख्रापालनबाट वार्षिक रु ५० लाख आम्दानी गर्दै आउनुभएको छ । विसं २०६९ मा सोही वडाको नावरुङमा प्रकाश एग्रीकल्चर प्रालि फार्म दर्ता गरी २० वटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएका उहाँले कृषकसँगै वडाध्यक्षको भूमिका निर्वाह गरिरहनुभएको छ ।

मल्लको फर्ममा अमेरिकन सानन जातका र अष्ट्रेलियन बोयर जातका१०० बाख्रा र पचासभन्दा बढी पाठापाठी छन् । ती बाख्रालाई खुवाउन १५० रोपनी जमीनमा घाँसखेती गरिएको छ ।घर नजिकैको जग्गामा बडहरे, डालेघास, बकाइनो, पाखुरी, निवारो,राईखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाइएको छ । बाख्राका लागि चार वटा छुट्टाछुट्टै खोरको व्यवस्था गरिएको छ । फार्ममा हालसम्म रु तीन करोड लगानी भएको मल्लले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीको राम्रो जागिर छाडेर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ बाख्रापालन शुरु गरेको थिएँ । पछि राजनीतिलाई पनि अगाडि बढाएँ र वडाध्यक्षमा निर्वाचित भए ।” मल्लले घाँस काट्न फर्ममा पाँच जनालाई रोजगारी दिनुभएको छ । उहाँको फार्ममा बाख्रासँगै मौरी, कुखुरा र दुई अस्ट्र्चि छन् । साथै फार्म अवलोकन गर्न आउनेहरुलाई बस्नको लागि होमस्टेको व्यवस्था मिलाइएको छ ।बाख्रापालनबाट पहिचान बनाउनुभएका उहाँले विभिन्न पुरस्कार पाइसक्नुभएको छ । युवा स्वरोजगार पुरस्कार, गट मिसन पुरस्कार र २०७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट उहाँ पुरस्कृत हुनुभएको थियो ।

Comment
error: Content is protected !!