नेपाल प्रहरीले मानवसेवा आश्रमलाई गर्‍यो रु ३० हजार सहयोग



काठमाडौँ, २५ भदौ – नेपाल प्रहरीले मानव सेवा आश्रमलाई रु ३० हजार सहयोग गरेको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षक १५५ औँ समूहले प्रहरी अधिकृत सेवाको नौ वर्ष पुरा गरी १० वर्ष पूरा गरेको अवसरमा मङ्गलबार साँझ मानवसेवा आश्रम सामाखुशीलाई उक्त सहयोग गरेको हो ।कार्यक्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले मानवसेवा आश्रम सामाखुशीका सञ्चालक सन्तोषी थापामगरलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा वृत्त प्रमुख लम्सालले वृद्धवृद्धालाई सबैले आदर र सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । आगामी दिनमा पनि नेपाल प्रहरीले वृद्ध, वृद्धालाई निरन्तर सहयोग गर्दै जाने उहाँको भनाइ थियो । आश्रमका सञ्चालक थापामगरले सामाजिक काममा अनवरत लाग्ने नेपाल प्रहरीले वृद्ध बा, आमालाई सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो । नेपालका विभिन्न १५ जिल्लामा सञ्चालन गरिएको आश्रममा हालसम्म ८०० भन्दा बढीले आश्रय लिइसकेका छन् । विसं २०८२ सम्म खुला आकाशमुनि कोही पनि व्यक्ति बस्न नपरोस् भन्ने उद्देश्य आश्रमले लिएको उहाँको भनाइ थियो । (रासस)

Comment