जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन गर्भा दरबार जीर्ण बन्दै



अत्तरिया, २५ भदौ – कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो ।दरबार संरक्षणमा ध्यान नदिँदा दिन प्रतिदिन भत्किने क्रममा रहेको छ ।सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय संभावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएको चुरे गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण मल्लले बताउनुभयो ।

उहाँका अनुसार दरबार संरक्षण गर्नसके पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । ऐतिहासिक दरबार संरक्षण गर्न कसैबाट पहल भएको देखिँदैन । स्थानीय बासिन्दाले ऐतिहासिक दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आएका छन् ।राणाकालीन दरबार जीर्ण हुँदै जाँदा दरबारमा पछि लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ । लामो समयदेखि भवन प्रयोगविहीन बनेपछि भत्किँदै गएको स्थानीयको भनाइ छ । दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन शुरू भएको वडाध्यक्ष मल्लको भनाइ छ ।

राणा शासनकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । खड्क शम्शेरका छोरा बहादुर शम्शेरपछि गर्भा दरबार बहादुर शम्शेरका साहिँला छोरा तेजप्रकाश शम्शेर जबराको भागमा परेको स्थानीय जानकार बताउँछन् । उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि बास नबसेको बताइन्छ ।हावापानी, मौसम र भौगोलिकरूपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीय बासिन्दाको छ । मास पिसेर त्यसबाट चुना लगाई निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको सो दरबार तीन खण्ड र तीन तले छ ।

सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङसमेत बनाइएको छ । सुरुङ अहिले पुरिँदै गएको छ । राणा शासक खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।दशकौँ पुरानो राणाकालीन दरबार संरक्षण गर्नसके पर्यटकीय क्षेत्रको रूपमा समेत विकास गर्न सकिने संभावना रहेको छ । ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न सकेको छैन ।

चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा राखेको गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताउनुभयो । उहाँका अनुसार गर्भादरबार संरक्षणका लागि पालिकासँग पर्याप्त बजेट छैन । दरबार संरक्षणका लागि प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिँदै आएको रोकामगरले बताउनुभयो ।गत आव दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ६० लाख बजेट विनियोजित गरेको प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीले जानकारी दिनुभयो ।

आवको अन्तिममा बजेट निकासा भएको र पर्याप्त समय नहुँदा विनियोजित बजेट ‘फ्रिज’ भएको उहाँको भनाइ छ । दरबार संरक्षण र मर्मतका लागि चालू आवमा रु ५० लाख बजेट विनियोजन गरिएको सोडारीले बताउनुभयो । चुरे क्षेत्रमा पर्ने राणाकालीन दरबारको संरक्षणमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने र यसबाट स्थानीयको जीवनस्तरमा सुधार गर्न सकिने प्रबल सम्भावना रहेको उहाँको भनाइ छ । (रासस)

Comment