काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन — OSNepal

काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन

LC (KTM) September 21, 2021 0

काभ्रेपलाञ्चोक ५ असोज । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन् ।

यसरी चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा नगरपालिका–११ मा राजु श्रेष्ठ र १२ नम्बर वडामा पे्रम शर्मा वाग्ले छन् । पार्टीका जिल्ला प्रवक्ता महेश पौडेलले केही वडामा सर्वसम्मतको प्रयास भइरहेको र केही वडामा सर्वसम्मत चयन भई निर्णय गर्ने चरणमा रहेको जानकारी दिए ।

१९ हजारभन्दा बढी क्रियाशील सदस्यले बाँकी वडा सभापति चयन गर्दै छन् । जिल्लामा १३ पालिका छन् ।आज काभ्रेसहित सात जिल्लामा वडा अधिवेशन जारी छ ।

वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने समितिले जनाएको छ । समितिका अनुसार वडा निर्वाचनमा वडा सभापतिसहित २२ जनाको वडा कार्यसमिति चयन गर्नेछ । साथै, वडा निर्वाचनमा वडामा रहेका क्रियाशील सदस्य संख्या अनुपातमा १५ देखिमाथि क्षेत्रीय प्रतिनिधि चयनसमेत हुने जनाइएकोे छ ।

पार्टीको निर्वाचन कार्यतालिका अनुसार यही असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ÷नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ । यस्तै, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

यसैबीच, यही असोज ९ गते हुने नगर निर्वाचनमा बनेपाका वर्तमान नगर सचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् ।

जिल्ला सभापतिमा भने सात आकांक्षी देखिएका छन् । वर्तमान जिल्ला पार्टी सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाईं र पाँचखाल नगरपालिका प्रमुख महेश खरेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर