तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला



दमौली, २२ असोज – जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन् ।आर्थिक वर्ष २०७४÷७५ मा २५६, ०७५÷७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६÷७७ मा २९ जना महिला तथा बालबालिका हराएको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक सिलवालका अनुसार आव ०७४÷७५ मा २५६, ०७५÷७६ मा २२२ र ०७६÷७७ मा १० जना महिला तथा बालबालिका फेला परेका छन् ।

सिलवालका अनुसार ०७४÷७५ मा हराएकामध्ये छ र ०७६÷७७ मा हराएकामध्ये १९ जना अझै पनि फेला पर्न सकेका छैनन् । “विसं ०७४÷७५ मा हराएको निवेदन परेकामध्ये सबैलाई फेला पार्न सक्यौँ, हराइरहेका अन्य महिला तथा बालबालिकाको भने खोजी कार्य जारी छ”, प्रहरी उपरीक्षक सिलवालले भन्नुभयो ।

कतिपयले हराएको निवेदन दिए पनि फेला परेपछि कार्यालयमा जानकारी नगराउने भएकाले तथ्याङ्कमा महिला तथा बालबालिका फेला नपरेको देखिएको हुनसक्ने प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।प्रहरी कार्यालयका अनुसार चालू आवमा २१ महिला, चार बालिका र चार ज्येष्ठ नागरिक हराएको निवेदन परेको छ । त्यसमध्ये पाँच महिला, तीन बालिका र दुई ज्येष्ठ नागरिक गरी १० जना फेला परिसकेका छन् भने १६ महिला, एक बालिका र दुई ज्येष्ठ नागरिकको खोजी भइरहेको छ ।(रासस)

Comment