ढाकामा रमाउँदै रनिमाया, उकासिँदै कमजोर आर्थिक अवस्था — OSNepal

ढाकामा रमाउँदै रनिमाया, उकासिँदै कमजोर आर्थिक अवस्था

LC (KTM) September 22, 2021 0

तेह्रथुम, ६ असोज – लालिगुराँस नगरपालिका सोल्माकी रनिमाया नेपाली उमेर ५३ बर्षकी भइन् । उमेरले डाँडो काटिसके पनि उनको जोश जाँगर भने उदाहरणीय छ । १४ वर्षको उमेर विवाह भयो उनको । अनेकौ समस्यासँग पैठेजोरी खेल्दै परिवार र समाजका लागि संघर्षशील महिला हुन् उनी । ७ सन्तानकी आमा रनिमाया ४० बर्षको उमेरमा रोजगारको सिलसिलमा साउदी पुगिन् । छोरीको विवाहमा लागेको ऋण श्रीमानले आफै तिर भनेपछि उनी वैदेशिक रोजगारको बाटो रोज्न बाध्य बनिन् ।

साउदीमा रहँदा कमाएको पैसाले साहुको ऋण तिरेर घर बनाइन् । ‘वैदेशिक रोजगारको कमाई घर बनाउन र ऋण तिर्दै सकियो । हातमा कुनै सीप पनि थिएन । सीप लिन तालिम केन्द्रमा तिर्ने पैसा पनि थिएन । तर गाउँमै निःशुल्क तालिम पाउँदा खुसी छु,’ उनले भनिन् ।

घरको आर्थिक अवस्था कमजोर भएको र दुईचार पैसा आउने बाटो नभएपछि रनिमाया यतिबेला ढाका बुनाइ सीप लिँदै आएकी छन् । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेड्पाको गाउँमै ढाका बुनाई सम्बन्धी तालिममा सहभागी भइन् । सीप सिकिन् र यतिबेला घरमै तान लगाएर ढाका बुन्न थालेकी छन् ।

उनीजस्तै ४० बर्षकी भिमकुमारी मगर तालिमबाट सीप पाएपछि ढाकामा रमाउन थालेकी छन् । घरको सानातिना समस्याहरुमा पनि श्रीमानकै भर पर्नुपर्ने भएकाले पनि थोरबहुत आम्दानी हुने भएपछि यो पेसा रोजेको उनले बताइन् । नेपाली र मगरजस्तै धेरै महिलाहरु सीप लिँदै आएका छन् ।

घरमै बसेर परिवार सँगै रमाउँदै व्यवसाय सञ्चालन गर्न सकिने भएकाले पनि पछिल्लो समय महिलाहरुको रोजाईमा ढाका बुनाई पर्न थालेको हो । तेह्रथुमे ढाका चर्चा सँगै यहाँ उत्पादन भएको कपडा विभिन्न मुलुकहरुमा निर्यात हुने गरेको छ ।

ग्रामिण क्षेत्रका महिलाहरु अझै मेलापात घाँस दाउरामा मात्रै अल्झिन्दै आएका छन् । आर्थिक रुपमा विपन्न रहेका महिलाहरुलाई लक्षित गरी लालीगुराँस नगरपालिकाको सहयोगमा सीपमुलक तालिमहरु सञ्चालन गर्दै आएको उपमेयर तिला पोखरेलले बताइन् ।

तालिममा महिलाहरु ढाका मखलर,चौबन्दी,कुर्ता सुरुवाल,पछ्यौरीलगायतका सीप प्रदान गरिएको प्रशिक्षक ललित लिम्बुले बताइन् । गरिबीका कारण सीप लिन नसक्ने महिलाहरुलाई सीप प्रदान गरी गरीबी निवारण गर्ने उद्देश्यका साथ तालिमहरु सञ्चालन गर्दै आएको लालिगुराँस नगरपालिकाका मेड्पा कार्यक्रम संयोजक छत्र श्रेष्ठले बताए ।

उनकाअनुसार नगरपालिकामा रहेका महिलाहरुलाई विभिन्न सीपमुलक तालिमहरुमा सहभागिता गराउँदै आएको छ । सीप लिएसँगै यहाँका महिलाले आफूले उत्पादन गरेको वस्तुलाई बजारीकरणका लागि भने स्थानीय सरकारले सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर