भोजपुरमा विकास निर्माणको काममा तीव्रता — OSNepal

भोजपुरमा विकास निर्माणको काममा तीव्रता

LC (KTM) September 23, 2021 0

भोजपुर, ७ असोज -जल्लामा रोकिएको विकास निर्माणको काम सुरु गरिएको छ ।विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण जिल्लामा विगत चार महिनादेखि विकास निर्माणका काम सञ्चालन हुन सकेको थिएन ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएपछि विकास योजनाको काम तीव्रगतिमा सुरु भएको हो । जिल्लामा सडक, पुल, भोजपुर रङगशालालगायतको काम तीव्रगतिमा भइरहेका छ । सञ्चालित योजना समयमा सम्पन्न हुने प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले बताउनुभयो । निर्माणाधीन आयोजनाको अवलोकन गर्दै उहाँले जनताको आवश्यकताका आधारमा दर्जन बढी सडक, पुल, खेलमैदान निर्माणलगायत भौतिक संरचना निर्माण भइरहेकाले आफू मुख्यमन्त्रीमा नरहे पनि ती आयोजनाको पूर्णताका लागि आफ्नो सहयोग रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यहाँका जनताले विकासको महसुस गर्ने गरी विकासका गतिविधि सञ्चालन भइरहेका छन् । प्रदेशवासीको पाँच वर्ष नै सेवा गर्ने मेरो उद्देश्य भए पनि पछिल्लो समयमा सिर्जना भएको राजनीतिक घटनाक्रमका कारण म मुख्यमन्त्रीबाट बाहिर छु । तर पनि मेरो कार्यकालमा शिलान्यास भएका योजनाले पूर्णता पाउँछन् ।’’

गृह जिल्लामा आएको अवसरमा राईले आफूले शिलान्यास गरेको विभिन्न योजनाको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा कामले गतिलिएको पाइएको साथै कामका क्रममा आएका विभिन्न समस्याको समाधानमा पहल गर्ने उहाँले बताउनुभयो । पूर्वमुख्यमन्त्री राईले भोजपुर सदरमुकाममा निर्माण भइरहेका अन्राष्ट्रियस्तरको भोजपुर रङगाशाला र किराँत संस्कृतिसँग जोडिएर निर्माण भइरहेका एलम्बर सभाहलको स्थलगत अनुगमन गर्नुभएको थियो ।

भोजपुर रङगाशाला र एलम्बर सभाहल निर्माण, विभिन्न सडक विस्तारलगायत अन्य विकास निर्माणको कामलाई अघि बढाइएको छ । त्यस्तै स्थानीय तहहरूले पनि आफ्नो पालिकाहरूको विकास निर्माणको कामलाई अघि बढाएका छन् । त्यस्तै करिब रु १७ करोडको लागतमा जिल्लाको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्मको पाँच किलोमिटर सडक र आसपाल्ड प्रविधिबाट निर्माण भएको भोजपुरको पहिलो सडकको कालोपत्र गर्ने कार्य पनि आगाडि बढाएको छ ।

उत्तर–दक्षिण सडक विस्तार रणनीतिक योजना अनुसार उदयपुरको मैनामनी र भोजपुरको सिमाना दूधकोशीको पुलले हतुवागढी, आमचोक गाउँपालिकाबाट भोजपुर सदुरमुकाम हुँदै सङ्खुुवासभाको किमाथाङकासम्म सडक जोड्ने लक्ष्य रहेको निवर्तमान मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

तराई हुँदै भोजपुरलाई उत्तर–दक्षिण सडकको पहुँचमा जोड्नका लागि प्रदेश सरकारको प्राथमिकता प्राप्त रणनीतिक वैकल्पिक सडक निर्माणका लागि एशियाली विकास बैंकको लगानीमा आरसी आइपी संस्थाले आधारभूत प्रक्रिया पूरा गरेर डिपीआर बनाउने तयारीमा जुटेको छ । तत्काललाई चतरादेखि भोजपुर सदरमुकाम हुँदै दिङलासम्म र भविष्यमा किमाथाङ्कासम्म जोडेर वैकल्पिक राजमार्ग बनाउने योजनाका साथ काम भइरहेको छ ।

त्यस्तै रामप्रसाद राई गाउँपालिकाको डढुवादेखि आरिखोलासम्मको करिब २० किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो सडकमा प्रदेश सरकारको करिब रु ५४ करोड लगानी रहेको छ । त्यस्तै प्रदेश सरकारले षडानन्द नगरपालिका –१२ तुर्केपुल –फाली दोबाटो २२ किलोमिटर सडक कालोपत्रको काम सुरु गरेको छ । रु ६१ करोड ६० लाख लागतमा आस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको सो सडक आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

भोजपुरलाई छोटो सडक मार्गबाट तराईका जिल्लासँग जोड्ने लक्ष्यका साथ हतुवागढी–९ हसनपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दूधकोशी नदीमा मोटरेवल पक्की पुल निर्माण भइरहेको छ । प्रदेश एक सरकारको रु २१ करोड, २३ लाख १२ हजार ४७ लागतमा पुल निर्माण सुरु भएको हो । पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपातसहित साँढे १० मिटर रहेको छ । पुलको डिजाइन अवधि ५० देखि ८० वर्ष रहेको छ । सदरमुकामबाट दूधकोशी पुलसम्मको लम्बाइ करिब ६५ किलोमिटर रहेको छ ।

रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलामा प्रदेश– १ सरकारको समन्वय तथा स्वीस सरकारको रु पाँच करोड लागतमा पक्की पुल निर्माण भइरहेको छ । पुल ४५ मिटर लम्वाइ, ६ मिटर चौडाइ र १ दशमलब २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको छ । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्पप्रतिरोधी हुने प्राविधिकले बताएका छन् । त्यस्तै स्वीस सरकारको रु तीन करोड लागतमा सिक्तेल खोलामा निर्माण भइरहेको २५ मिटर लामो पक्की पुलको काम भने अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै भोजपुर नगरपालिका–१२ टक्सार र रामप्रसाद राई गाउँपालिकाको मानेभञ्याङ जोड्ने पिखुवा खोलामा पनि पक्की पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत प्रदेश नं १ सरकारको रु ६ करोड, १३ लाख ५३ हजार लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेवल पक्की पुलको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी मार्सेली निर्माण सेवाले जनाएको छ । यसैगरी रु तीन करोड २४ लाख लगानीमा बन्दै गरेको आरिखोला पक्की पुलको ५५ प्रतिशत काम सकिएको छ । जुन पुलको लम्बाइ २५ मिटर रहेको छ भने निर्माण अवधि २०७८ फागुनसम्म रहेको जनाइएको छ । तमुटार साम्पाङमा प्रदेश सरकारको रु ६ करोड ३३ लाख लागतमा पक्की पुल निर्माण भईरहेको छ । यो पुल २०७६ सालमा सम्झौता भएको छ भने २०७८ चैतमा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

पिखुवा खाल्डेमा पनि रु तीन करोड लागतमा २० मिटर लामो पक्की पुल निर्माण भइरहेको छ । यो पुल २०७९ असार सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । त्यस्तैगरी नखुवा खोला दोभान(गङखुवा)मा रु पाँच करोड ४१ लाख लागतमा ५० मिटर लामो पुल बनाइरहेको छ । सोही नखुवा खोला दोभान(वाङ्खुवा)मा रु तीन करोड २० लाख लागतमा २५ मिटर लामो पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । भोजपुर सदरमुकाममा १४ करोड लागतमा अन्तराष्ट्रियस्तरको भोजपुर रङगशाला र तीन करोड १७ लाख लागतमा यलम्बर सभाहल बनिरहेका छन् ।जिल्लाभित्र प्रदेश सरकारको लगानी तथा समन्वयमा १३ ओटा पक्की पुल बन्ने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । तीमध्ये अधिकांश पुलको काम अन्तिम चरणमा पुगेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर