लुम्बिनीको बहुआयामिक पक्ष देख्दा दङ्ग लाग्दो छ, तर अवस्था देखेर दिक्क लाग्छ 



बुटवल – समाजले सम्पदाको स्वामित्व ग्रहण नगर्दासम्म समृद्धि सम्भव नहुने बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित छलफल कार्यक्रममा निष्कर्ष निकालिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको लुम्बिनी समाचार महोत्सवअन्तर्गत ‘लुम्बिनी सम्पदा, समृद्धि र समाज’ विषयक सोमबार आयोजित छलफलका वक्ताहरुले कुनै पनि सम्पदालाई समाजको समृद्धिसँग जोडेर संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसालले लुम्बिनीको विकासका लागि योजनाअनुसारको काम हुन नसकेको बताउनुभयो । “लुम्बिनीको बहुआयामिक पक्ष देख्दा दङ्ग लाग्दो छ, तर अवस्था देखेर दिक्क लाग्छ”, उहाँले भन्नुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले लुम्बिनीको विकासमा विगत ४० वर्षको अवधिमा नेपाल सरकारको अहिलेसम्म रु छ अर्बको लगानी भएको बताउनुभयो । यसका साथै लुम्बिनीको सुन्दरताका लागि विभिन्न मुलुकका बौद्ध गुम्बा निर्माणमा करीब रु १९ अर्बको लगानी भएकोसमेत उहाँले जानकारी गराउनुभयो । उहाँले लुम्बिनी गुरुयोजना सकिने चरणमा रहेको उल्लेख गर्दै गुरुयोजना छिटो सकेर बुद्ध सर्किटको विकास गर्ने तयारीमा विकास कोष रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य फकरुद्धिन खानले लुम्बिनीका महत्वपूर्ण सम्पदा सुरक्षित गर्न प्रदूषण नियन्त्रण गर्नुपर्ने बताउनुभयो । “लुम्बिनी क्षेत्रमा स्थापित भएका उद्योगको प्रदूषणका कारण सम्पदामा गम्भीर आँच पुगेको छ, यसको नियन्त्रण जरुरी छ”, उहाँले भन्नुभयो । नेपालको पर्यटन प्रवद्र्धनको प्रमुख आधार नै लुम्बिनी भएकाले यसको विकासमा सरकार गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो । उहाँले लुम्बिनीका विहारमा पर्यटक बस्दा यहाँका पर्यटन व्यवसायीलाई असर परेकाले यसबारे विकास कोष जवाफदेही बन्नुपर्ने धारणा राख्नुभयो ।

कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले लुम्बिनीमा पर्यटकको बसाइँ अवधि लम्ब्याउन आकर्षक प्याकेज निर्माण गरी बृहत्तर गुरुयोजना निर्माण गरी अघि बढ्न सकिने धारणा राख्नुभयो । एबिसी टेलिभिजनका सञ्चालक शुभशङ्कर कँडेलले सम्पदाको संरक्षण आशा र आदर्शको संयोजन भएकाले आम जनताको जीवनसँग यसलाई जोड्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनीको विकास र संवद्र्धनका लागि लुम्बिनी विकास कोष र स्थानीयबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकार मिलेर लुम्बिनीको समृद्धिका लागि योजना बनाउनुपर्ने उहाँको भनाइ छ ।(रासस)

Comment
error: Content is protected !!