OSNepal शनिबार, मंसिर ११ २०७८

महोत्तरीका किसानको मुख्य सहारा ओलखेतीबाट मनग्ये आम्दानी गर्दै

महोत्तरीका किसानको मुख्य सहारा ओलखेतीबाट मनग्ये आम्दानी गर्दै

  • OSNepal
  • आइतबार, असोज १० २०७८


महोत्तरीका किसानको मुख्य सहारा ओलखेतीबाट मनग्ये आम्दानी गर्दै
Reading Time: 2 minutes

महोत्तरी, १० असोज-महोत्तरीका किसानलाई नगद जोहोको मुख्य सहारा ओलखेती भएको छ । यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन नदिएपछि किसानका लागि ओल नै नगद जोहोको सहारा बनेको हो । जिल्लाका सुदूरउत्तरवर्ती बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा व्यावसायिकरूपमै ओलखेती हुँदै आएको छ ।

ओल थोरै सिचाइँमा पनि हुने र अन्य तरकारी बालीभन्दा चोटिलो वर्षा खेप्नसक्ने भएको हुँदा किसानको रोजाइमा पर्ने गरेको छ । थोरै लगानी र कम मेहेनतमै अपेक्षित उत्पादन लिन सकिएपछि यसको व्यावसायिक खेतीतर्फ किसानमा आकर्षण बढेको हो । अहिले जिल्लाका बजारहरुमा नयाँ उत्पादित ओलको बजार जमेको छ ।

सिँचाइको स्थायी उपाय (सधैँभरि कुलो नहर लाग्ने) नभएको र माटो पनि दोरस (बालु माटो सराबरी) भएको हुँदा जिल्लाको उत्तरी क्षेत्रका किसान अन्नबालीभन्दा फलपूmल र तरकारी खेतीमा रम्ने गरेका देखिन्छ । तरकारी बालीमध्ये पनि अरुभन्दा घामपानी खप्नसक्ने र उत्पादन घरमै लामो समयसम्म भण्डारण गर्न सकिने भएको हुँदा ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो खेती भएको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउनुहुन्छ ।

“यसपालि कोभी, भाण्टा, खोर्सानी र रामतोरइका बोट तथा अरु लहरे तरकारीका बेला (लहरा) लगातारको वर्षाले पिटेर गलायो, ओलले भने जेनतेन वर्षा खेपेकाले धेरथोर नगदको मुख हेर्न पाइएको छ”, उहाँले भन्नुभयो, “पाखेबारीमा ड्याङमा रोपिने, बोट घामपानी खेप्न ज्याद्रो हुने र माटोमा फल्ने भएको हुँदा ओलचाहिँ अरु बालीजस्तो पानीले गलाउन सकेन ।” दशैँ, तिहार र छठपर्वको मुखमा नगद खर्चको मेसो ओलमै अडेको महतोको भनाइ छ ।

जिल्लाको उत्तरी क्षेत्रका यी चार नगर क्षेत्र र सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिकाका बस्तीमा ओलखेती लगाइन्छ । प्रतिकठ्ठा १०÷१२ क्विन्टल उत्पादन हुने ओल खनेर निकालेपछि पनि महिनौँ नबिग्रने हुँदा फुर्सद र भाउ बुझेर बजार लान पाइने किसान बताउँछन् । जिल्लामा अहिले करिब २०० बिघा हाराहारी क्षेत्रफलमा ओलखेती रहेको स्थानीय कृषि अभिलेखबाट देखिन्छ ।

खासमा गौशाला र भङ्गाहा नगर क्षेत्रका धेरैजसो किसानले मुख्य खेती नै ओललाई बनाएका छन् । ओलखेतीबाटै आपूmले वर्षेनी रु पाँच लाख आम्दानी लिने गरेको गौशाला नगरपालिकाको लक्ष्मीनियाँ बस्तीका किसान अरुण कुशवाहा जानकारीदिनुभयो । “यो हाम्रो नगदको जोहोमात्र होइन, घरगुजाराको सबै थोक हो”, उहाँ भन्नुहुन्छ, “चामल, पिठो, मरमसला सबै कुरा ओल बेचेर लिन्छौँ ।” माटोमुनि फल्ने स्वास्थ्यका दृष्टिकोणले अति नै लाभदायक र निकै स्वादिलो हुने ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो ।

ओलको तरकारीका साथै अचारको परिकार प्रसिद्ध छ । शीतभण्डारको सुविधा भए ओल वर्षभरि नै टिकाउन सकिने किसान बताउँछन् । प्र्रतिकट्ठा रु पाँच÷सात हजार लगानीभित्र गर्न सकिने ओलखेतीबाट आम्दानी प्रतिकठ्ठा रु २५÷३० हजारसम्म लिन सकिने किसानको भनाइ छ । उन्नत जातको एउटै बोटमा आठदेखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ । बजारमा न्यूनतम रु ४० देखि ८० प्रतिकिलो सरदर नै बिक्री हुने गरेको भङ्गाहा–४ का किसान रामजी यादव बताउनुहुन्छ ।

नगरभरि नै ओलखेती हुने गरेकाले बर्दिबास, भङ्गाहा, गौशाला र औरहीका किसानले आफ्नो उत्पादन एकत्रित गरेर जलेश्वर, जनकपुर, मलङ्वासहितका नजिकका बजार र पूर्व मेचीबाट पश्चिम महाकालीसम्म उत्पादन पुग्ने गरेको भङ्गाहा–४ कै अर्का किसान सत्यनारायण यादवको भनाइ छ । आफ्नो क्षेत्रको ओल बीउका लागि कैलाली, कञ्चनपुरसम्म पु¥याइएको किसान यादवले बताउनुभयो ।

प्रत्येक वर्ष चैत–वैशाखमा रोपिने ओल भदौै–असोजभरि खनेर निकालिन्छ । विषादि छर्किनु नपर्ने, हल्का सिँचाइमै गर्न सकिने र चार महिनाभित्रै उत्पादन लिन सकिने भएपछि ओल किसानबीच लोकप्रिय हुँदै गएको हो । अचेल विभिन्न कृषि कार्यालय, बीउबिजन केन्द्र र बीउ उत्पादकहरु आफ्ना स्थायी ग्राहक नै बनेका यहाँका किसानको भनाइ छ । किसानले प्रत्येक नगरमा शीतभण्डार भवनको चाँजो मिलाइदिन आ–आफ्ना नगर नेतृत्वसँग आग्रह गरेका छन् । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड