एकै दिन चार हजारले ज्यान गुमाउदा पनि भारतमा अझै ५० प्रतिशतले मास्क लगाउदैनन् — OSNepal

एकै दिन चार हजारले ज्यान गुमाउदा पनि भारतमा अझै ५० प्रतिशतले मास्क लगाउदैनन्

LC (KTM) May 21, 2021 0

नयाँ दिल्ली, ७ जेठ – भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ ।राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भन्नुभयो, “हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ ।” उहाँले मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले पर्याप्तरूपमा नाक नछोप्ने गरेको पाइएको समेत जानकारी दिनुभयो ।

देशका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा सक्रिय सङ्क्रमितहरु रहेको पनि उहाँले बताउनुभयो । सहसचिव अग्रवालका अनुसार अरु १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेका छन् । कर्नाटक, पश्चिम बंगाललगायतका केही राज्यहरुमा २५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण नै देखिने गरेको उहाँले बताउनुभयो ।

“कुनै एउटा व्यक्तिले सामाजिक दुरी कायम गरेन भने औसतमा एक महिनामा ४०६ जनालाई सङ्क्रमित गराउन सक्ने देखिएको छ,” उहाँले भन्नुभयो । अध्ययनका आधारमा पनि उहाँले सामाजिक दुरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिनुभयो । भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृ त्यु भएको छ । भारतमा बढी घातक मानिएको कोरोनाभाइरसको दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । भारतमा कोरोनाका कारण मृ त्यु भएकाहरुको सङ्ख्या सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी हुनसक्ने विज्ञहरुले दावी गरेका छन् ।

भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या भने घटेको देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ५९ हजार ५९१ जना नयाँ संक्रमित देखिएका छन् भने तीन लाख ५७ हजार २९५ जना संक्रमणमुक्त पनि भएका छन् । भारतमा अझै पनि ३० लाख २७ हजार ९२५ जनामा सक्रिय संक्रमण छ । भारतमा कोभिड देखिएयता २ करोड ६० लाख ३१ हजार ९९१ जना कूल संक्रमित भेटिएका र त्यसमध्ये २ करोड २७ लाख १२ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् । एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर