चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी भन्छन् हलका सिट आधा खाली राखेर फिल्म देखाउन सकिँदैन (अन्तर्वार्ता) — OSNepal

चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी भन्छन् हलका सिट आधा खाली राखेर फिल्म देखाउन सकिँदैन (अन्तर्वार्ता)

LC (KTM) September 26, 2021 0

–आकाश अधिकारी, अध्यक्ष चलचित्र निर्माता संघ

काठमाडौं, १० असोज – सरकारले ५० प्रतिशत दर्शक राखेर काठमाडौंका हल सञ्चालन गर्न अनुमति दिए पनि फिल्म निर्माताहरू फिल्म रिलिज गर्न तयार छैनन् । हल सञ्चालकले पनि हल खोल्न जाँगर देखाएका छैनन् । डेढ वर्षभन्दा बढी समय हल बन्द हुँदा लागेको घाटा र नोक्सानीप्रति उनीहरू चिन्तित छन् । सरकारले राहत दिनु पर्ने साथै शतप्रतिशत दर्शकका साथ देशभरका हल सञ्चालन गर्न पाउनुपर्ने सञ्चालकहरूको जोड छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि फिल्म क्षेत्र चलायनमान बनाउन सरकारले निर्माता तथा हल सञ्चालकरूलाई सहयोग गर्नुपर्ने धारणा राख्छन् । नेपाली सिनेमा क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा संघका अध्यक्ष अधिकारीसँग गरेको संवाद :-

चलचित्र क्षेत्रलाई चलायमान बनाउन तपाईंहरूले के गरिरहनु भएको छ ?

– हामी नेपाली चलचित्रको निर्माण, प्रदर्शन तथा वितरणलाई कोरोनाअघिझै चलायमन बनाउने प्रयत्नरत छौं । चलचित्र विकास बोर्डसँगको सहकार्यमा चलचित्र निर्माता संघ, चलचित्र संघलगायतका संघसंस्थाले चलचित्र क्षेत्रलाई सरकारले प्राथिकतामा राखेर सहयोग गर्नुपर्छ भनेर पहल गरिरहेका छौं ।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित क्षेत्रमा चलचित्र क्षेत्र पहिलो नम्बरमा पर्छ । किनभने, अहिलेसम्म सरकारले अन्य क्षेत्रहरू निर्वाध रूपमा सञ्चालन गर्न दिइसकेको छ । तर, सिनेमा हललाई भने अझै ५० प्रतिशत ‘अकुपेन्सी’ तोकेको छ । त्यसमाथि कुनै ठोस राहतको व्यवस्था पनि गरेको छैन । हामीले सूचना तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयलगायतका निकायका साथै विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूलाई भेटेरै समस्या र सहयोग आवश्यकता रहेको बारेमा जानकारी गराएका छौ । उहाँहरूले सहयोग गर्ने वचन दिनुभएको छ ।

उहाँहरूबाट कस्तो आश्वासन पाउनु भयो ?

– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेताहरूलाई भेटेर समस्या राखेका छौं । उहाँहरूले सहयोगको प्रतिबद्धता जनाउनु भएको छ । सूचना तथा सञ्चार मन्त्रालय तथा अर्थ मन्त्रालयका सचिवहरूलाई पनि लिखित रूपमै जानकारी गराएका छौं । सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छौं । हामीले प्रधानमन्त्रीसँग पनि भेट्ने समय मागेका छौं ।

तपाईंको माग चाहिँ के के हुन् ?

– डेढ वर्षदेखि चलचित्र क्षेत्र ठप्प छ । महामारीअघि निर्माण भएका र प्रदर्शनको मिति समेत तोकिएका केही फिल्म रोकिएका छन् । पहिलो लकडाउनपछि पनि फिल्म बनेका छन् । डेढ वर्षदेखि हलहरू बन्द हुँदा धेरै नै नोक्सान भएको छ । चलचित्रमै आश्रित कयौं कलाकार, प्राविधिकहरू दैनिक गुजारासमेत चलाउन नसक्ने भएका छन् । यी सबै क्षेत्रलाई समेटेर सरकारले राहत प्याकेज घोषणा गर्नुपर्यो । चलचित्र बिकास बोर्डमार्फत सम्बन्धित निकायमा फिल्म निर्माता तथा हलहरूलाई प्रत्यक्ष राहत हुनेगरी सहयोग चाहियो भनेर लिखितमै मागहरू पेस गरेका छौं । सरकारले फिल्म प्रदर्शनका लागि कम्तीमा तीन महिनासम्म लगानीको ५० प्रतिशत सहायता गर्नुपर्‍यो, त्यसपछि क्रमश: ४०-३५ गर्दै सहायताको प्रतिशत घटाउदै लानुपर्यो, बन्द भएको दिनदेखिको विद्युत् डिमान्ड शुल्क लिनुभएन, हल पुनः सञ्चालनका लागि सहयोग गर्ने, कम्तीमा दुई वर्ष स्वदेशी फिल्मलाई ट्याक्स फ्री गर्नुपर्ने हाम्रा माग छन् ।

यस्तै बक्स अफिसलाई चुस्त बनाएर स्थिति सहज भएमा दुई वर्षपछि लाग्ने कर लिन आग्रह गरेका छौं । विकास बोर्डले चलचित्र प्रदर्शन गर्दा गर्नुपर्ने इन्कोडिङ चार्ज, भिपिसी चार्ज फ्रि गराउने, पब्लिसिटीमा सहयता गर्ने लगायतका सुविधा त पहिलो लकडाउन खुल्नेवित्तिकै गरेको थियो । त्यसमा पनि अझ केही थप सहयोग गर्नुपर्ने हाम्रो माग छ ।

सरकारले सहयोग गर्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

– चलचित्र क्षेत्रलाई ब्यूँत्याउन सरकारले पक्कै पनि ठोस सहयोग गर्ने विश्वास छ । सञ्चार सचिवले लिखित रूपमा ल्याउनुस् भनेअनुसार हामीहरूले चलचित्र विकास बोर्डसँग सहकार्य गरी बुँदागत रूपमा समस्या प्रस्तुत गरेका छौं ।

नेपाली फिल्म प्रदर्शन गर्न निर्माताहरूले पनि हतार नगरेको हो ?

– डेढ वर्षअघि नै प्रदर्शनको सम्मुख पुगेका फिल्मसमेत रिलिज रोकिएको छ । त्यसअघि र पहिलो लकडाउनपछि बनेका पनि केही फिल्म रिलिजको तयारीमा छन् । सबै निर्माताहरू फिल्म प्रदर्शन गर्न आतुर छन् । तर, शतप्रतिशत ‘रिस्क’ मोल्न तयार नभएका मात्रै हुन् । एक त राजधानीका हलमात्र खुल्ने, त्यसमा पनि ५० प्रतिशत मात्र दर्शक राख्न पाइने कन्डिक्सनले फिल्म रिलिज गर्न ‘रिस्क’ छ ।

यसकारण महँगाे बजेटका फिल्म प्रदर्शन गर्न डराउनुपर्ने अवस्था आएको हो । सरकारले ५० प्रतिशत मात्रै सहयोग गर्यो भने बाँकी ‘रिस्क’ निर्माताले लिन सक्छन् । हामीले निर्मातालाई फिल्म प्रदर्शन गर्नुस् भनेर दबाब दिन मिल्दैन । केही निर्माताले ‘जे जस्तो होला म फिल्म चलाउँछु’ भन्नु हुन्छ भने सहयोग गर्न तयार छौं । तर, फिल्म लगाउनै पर्छ भनेर दबाब दिन मिल्दैन ।

भारतमा ठूला बजेट र ब्यानरका फिल्म प्रदर्शन हुने घोषणा भइसके त्यसको प्रभाव यहाँ कस्तो पर्ला ?

– कोरोना महामारीका कारण डेढ वर्षयता संसारभरी नै हल बन्द छन् । अरु देशमा केही समयअघि नै हल खुलेका छन् । तर फिल्मको व्यापार सुखद् देखिँदैन । यस्तो अवस्थामा जहाँ जुनसुकै भाषाको फिल्म प्रदर्शन भए पनि फिल्मप्रेमी सबैका लागि खुसीको कुरा हो । भारतमा हल खुल्ने कुरा हाम्रा लागि पनि सुखद् कुरा हो । त्यसले हलमा गएर फिल्म हेर्ने माहोल चाँडै नै फर्काउन मद्दत गर्छ ।

नेपाली फिल्मको आगामी दिन कस्तो देख्नु हुन्छ ?

– फिल्म क्षेत्र तंग्रिन, चलायमान हुन केही समय पक्कै लाग्छ । दर्शकहरू हलमा गएर राम्रा फिल्म हेर्न आतुर हुनुहुन्छ । थुप्रै निर्माता, निर्देशकहरू फिल्म निर्माण गर्न पनि आतुर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर