चूडामणि शर्मालाई ५० लाख धरौटी माग गर्ने विशेष अदालतको आदेश — OSNepal

चूडामणि शर्मालाई ५० लाख धरौटी माग गर्ने विशेष अदालतको आदेश

LC (KTM) September 27, 2021 0

काठमाडौँ, ११ असोज – विशेष अदालतले कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग रु ५० लाख धरौटी माग गर्ने आदेश गरेको छ ।

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो । कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचारको आरोप लागेका शर्मालाई आज अदालतमा हाजिर गराएर थुनछेक बहसपछि उक्त धरौटी माग गरिएको हो ।

आदेशमा भनिएको छ, “प्रतिवादीउपर लिइएको आरोपदावी एवं यस अदालतबाट मिति २०७४/८/५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादीउपर दायर भएको प्रस्तुत पुरक आरोपत्रबाट सृजना हुनसक्ने थप दायित्व समेतलाई विचार गरी पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) बमोजिम प्रतिवादी चूडामणि शर्मा ढकालबाट रु ५० लाख धरौट माग गरिएको छ ।”

आदेशमा प्रतिवादीले कर फछ्र्योट आयोगमा रही कार्य गर्दा विभिन्न करदाताको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाणबाट अहिले नै निर्दोष हुन् भन्न सकिने स्थिति नदेखिएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध रु एक अर्ब ३३ लाख बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो । अख्तियारको अभियोग पत्रमा शर्मासहित कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो ।महत र ढकाल आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिई अदालतको आदेशबमोजिम जनही रु ५०/५० लाख धरौटी बुझाएर आइतबार नै रिहा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर