दाना लाग्ने बेलामा धानका बालामा भुस मात्रै, चिन्तामा किसान — OSNepal

दाना लाग्ने बेलामा धानका बालामा भुस मात्रै, चिन्तामा किसान

LC (KTM) September 27, 2021 0

जाजरकोट , ११ असोज-डोल्पाका दुई स्थानीय तहमा लगाइएको धानबालीमा दाना नलागेपछि कृषक चिन्तित बनेका छन् । ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न ठाउँमा लगाइएको धानबाली भित्र्याउने समयमा दाना नलागेपछि कृषकहरू चिन्तित बनेका हुन् ।परम्परागत रूपमा लगाउँदै आएको स्थानीय जातको धानमा दाना नलाग्ने समस्या देखिएको कृषकहरूको भनाइ छ । धानबालीको सम्भावना रहेको ठुलीभेरी नगरपालिका–९ मा पर्ने मोतिपुर, डाँगीबाडालगायतका गाउँमा लगाइएको स्थानीय जातको धानमा दाना नलाग्ने समस्या देखिएको मोतिपुरका कृषकहरूले बताएका छन् । वडा नम्बर ३ दुनैको दानबालीमा पनि यस्तै समस्या देखिएको छ ।

मोतीपुरमा लगाइएको अन्य जातको धान राम्रो भए पनि स्थानीय जातको धानमा दाना पनि नलाग्ने र खुम्चिने समस्या देखिएको कृषक गम्मर कठायतले जानकारी दिइन् । ‘धान लगाउने समयमा एउटै घरको २० देखि २५ हजार खर्चहुन्छ, यसपटक मोतिपुरका झन्डै २० घरधुरीले लगाएको धानमा दाना नै लागेको छैन, कसरी वर्षभरि गुजारा गर्ने, ठूलो पिर परेको छ,’ कठायतले भनिन् ।कृषक विजयकुमारी कठायतका अनुसार २० हजार खर्च गरेर लगाएको ५/६ रोपनी खेतमा लगाइएको धानमा पनि दाना नलाग्ने समस्या देखिएको छ । अब वर्षभरि के खाने भन्ने चिन्ता बडेको कठायतले दुखेसो पोखिन् । मोतीपुरकै विद्यादेवी कठायतको १५ रोपनी खेतमा लगाइएको धानबालीमा दाना लागेको छैन । ‘रोपाइँ गरेर गोडमेल गर्दासम्म खेतालाहरूको खर्च मात्रै ४० हजारसम्म लाग्यो, काट्ने वेला धानमा दाना छैन, अब परिवार कसरी पाल्ने ठूलो चिन्ता परेको छ,’ उनले दुखेसो पोखिन् ।

कुनै निकायबाट राहत नपाएमा कृषक भोकभोकै बस्नुपर्ने अवस्था आएको कठायतको भनाइ छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकामा पनि धानमा दाना नलाग्ने समस्यामा देखिएको छ । वडा नम्बर १ मा पर्ने त्रिपुराकोट, गल्लीलगायतका ठाउँमा लगाइएको स्थानीय जातको धानमा दाना नलाग्ने समस्या देखिएको हो । आफूले लगाएको सातवटा खेतमा लगाइएको धानमा बाला नलागेको कृषक यज्ञप्रसाद उपाध्यायले बताए ।अघिल्लो वर्ष राम्रो उत्पादन हुने स्थानीय जातको धान यसपटक भने दाना नलाग्ने रोगले सखाप पारेको उनले दुखेसो पोखे । डोल्पामा कति क्षेत्रफलमा लगाइएको धान बालीमा दाना नलाग्ने समस्या देखिएको हो यकिन तथ्यांक संकलन गरिएको छैन । कृषि र कृषकसँग प्रत्यक्ष जोडिने निकायका रूपमा रहेका कृषि विकास कार्यालय र स्थानीय तहका कृषि शाखाले यकिन तथ्यांक लिएका छैनन् ।

आफूहरूले धानमा देखिएको समस्याका बारेमा जानकारी गराउँदा पनि कृषकको पिरमर्का बुझ्न कुनै निकायबाट प्राविधिकहरू नआएको मोतिपुरका कृषकहरूले गुनासो गरे । सम्बन्धित क्षेत्रमा स्थलगत अनुगमन गरी क्षतिका आधार राहत उपलब्ध गराइदिन कृषि विकास कार्यालय र ठुलीभेरी नगरपालिका कृषि शाखालाई कृषकहरूले आग्रह गरे ।धानबालीमा देखिएको समस्याका विषयमा दुनैका कृषकहरू कृषि विकास कार्यालयलाई जानकारी गराएपछि अनुगमन गरेको कार्यालय प्रमुख शरद लामाले जानकारी दिए । दुनैका कृषकले जानकारी गराए पनि अन्य ठाउँका कृषकबाट गुनासो नआएको लामाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर