Reading Time: 2 minutes

सिद्धार्थनगर-विश्वका पर्यटकलाई स्वागत गर्न बुद्धजन्मस्थल लुम्बिनी तयार रहेको सरोकारवालाले बताएका छन् । लुम्बिनी विकास कोषद्वारा ४२औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रमका वक्ताहरूले लुम्बिनीमा विश्वका पर्यटकका लागि कोभिडपश्चात्को अवस्थामा पनि सुरक्षित ढङ्गले घुमाउने, बस्ने तथा खाने व्यवस्थापन गर्ने गरी तयारी गरिएको बताएका हुन् ।

पवित्र उद्यान लुम्बिनीको केन्द्रीय नहर नजिकै रहेको शान्तिदीप परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेयाले भन्नुभयो, “लुम्बिनीमा विगतमा ११५ देशका नागरिकले भ्रमण गरेको तथ्याङ्क छ, हामी संसारभरका मानिसलाई आजैका दिनमा पुनः लुम्बिनी घुम्न आउन अनुरोध गर्दछौँ ।” उपाध्यक्ष भिक्षु मेतेयाले कोभिडको सङ्क्रमण विश्वमा रोक्न तथा कोभिडको कारण मृत्यु भएकाको महापरिनिर्वाणका लागि पनि लुम्बिनीमा आएर पूजापाठ गर्नु संसारका मानिसका लागि जरुरी रहेको बताउनुभयो ।

नेपाल र भारतका पत्रकारको उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष मेतेयाले लुम्बिनी विश्वको साझा थलो भएको बताउँदै यसको संवद्र्धन र प्रवद्र्धनमा सबैको सहकार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्धवचनको पालना गर्दै, बुद्धले देखाएको मार्गमा हिँडेमा मात्र मानवीय जीवन सफल हुनेछ । हामी भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभरका मानिसलाई सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भनेर प्रार्थना पनि गर्न चाहन्छौँ ।” उपाध्यक्ष मेतेयाले विश्व पर्यटन बजारको पुनरुत्थानका लागि लुम्बिनीबाट पहल थालिएको पनि बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बौद्ध दर्शन र साहित्यले नै संसारलाई सही बाटोमा हिँडाउने बताउनुभयो । उहाँले लुम्बिनी, लुम्बिनी क्षेत्र र बुद्ध जीवनीको विषयका गहन अध्ययन अनुसन्धान गरेर समाचार, लेखहरू लेख्नसमेत पत्रकारलाई आग्रह गर्नुभयो । उपकुलपति बज्राचार्यले विश्वको पर्यटनमा लुम्बिनीको महत्व उल्लेखनीय रहेको बताउनुभयो । लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माले लुम्बिनी क्षेत्रका होटलमा असोज १५ गतेदेखि गाइडेड प्याकेज टुर कार्यक्रम ल्याइएको बताउनुभयो ।

महासचिव शर्माले सो अवसरमा तीनदिने प्याकेज कार्यक्रम दुई हजार १९९ मा तय गरिएको समेत बताउनुभयो । स्वदेशी पर्यटक लक्षित उक्त कार्यक्रममा पहिलो दिन बस स्टपबाट होटलसम्म पिकअप, होटलमा स्वागत, लुम्बिनीसम्बन्धी जानकारी, साँझ बुद्धग्राम रोबोटिक थिएटर भ्रमण र राति विश्राम कार्यक्रम रहेको छ । दोस्रो दिन मायादेवी मन्दिर अवलोकन, शान्ति दीप, आमा क्याफे बिगबेलको अवलोकन, अन्तर्राष्ट्रिय क्षेत्रको अवलोकन, नयाँ सांस्कृतिक ग्रामको अवलोकन हुने कार्यक्रम छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख डा हरिध्वज राईले लुम्बिनीको प्रवद्र्धनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका उल्लेखनीय हुन्छ ।” (रासस)

Leave a comment

Your email address will not be published. Required fields are marked *