प्रहरीमा आफैँ उजुरी लेखेर प्रतिवादीसँग पैसा माग्ने वकिल रामचन्द्र पक्राउ — OSNepal

प्रहरीमा आफैँ उजुरी लेखेर प्रतिवादीसँग पैसा माग्ने वकिल रामचन्द्र पक्राउ

LC (KTM) September 28, 2021 0

चितवन, १२ असोज-प्रहरीमा आफैँ लेखेर दिएकाे जाहेरीमा प्रतिवादीसँग पैसा मागेकाे आराेपमा प्रहरीले एक जना अधिकवक्ता (वकिल)लाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले ठगी उद्योगमा कालिका नगरपालिका-५ पदमपुरका ५० वर्षीय रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नागरिकतासम्बन्धी विषयमा एक जनालाई प्रतिवादी बनाएकाे उजुरी देवकाेटाले लेखेका थिए । तर, ‘तपाईँको नाममा जिल्ला प्रहरीमा जाहेरी परेको छ, उक्त जाहेरी दर्ता नगराई मुद्दा मिलाई दिन्छु’ भनेर देवकाेटाले रकम मागेकाे दाबी प्रहरीले गरेकाे छ ।

‘जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाइदिन्छु’ भनि रकम माग गरेपछि देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिसपी सूर्यबहादुर थापाले जानकारी दिए । ‘आफैँले लेखेर दिएको जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिलाई पटक-पटक फोन गरी तपाईँको नाममा जिल्ला प्रहरीमा जाहेरी परेको छ, उक्त जाहेरी दर्ता नगराई मुद्दा मिलाइदिन्छु भनि रकम माग गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो’, प्रवक्ता थापाले भने ।देवकोटालाई १० असाेजमा नियन्त्रणमा लिएर सोमबार चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर