१४ वर्षकै उमेरदेखि गैंडाको खाग तस्करी गर्न थालेका करण १६ वर्षको उमेरमा समातिए, करणसँगै थिए यि ७ जना पनि — OSNepal

१४ वर्षकै उमेरदेखि गैंडाको खाग तस्करी गर्न थालेका करण १६ वर्षको उमेरमा समातिए, करणसँगै थिए यि ७ जना पनि

LC (KTM) September 28, 2021 0

चितवन, १२ असोज – राज्यले १६ वर्षमुनिका नागरिकलाई बालबालिकाका रूपमा हेर्ने गरेको छ । १६ वर्ष पुगेपछि मात्रै व्यक्तिले नागरिकता पाउने गर्छ । बालबालिकालाई शिक्षादीक्षा दिनु उसको बाबु आमा र राज्यको पहिलो कर्तव्य हो । चेपाङ समुदायका एक व्यक्तिले भने आफ्नो छोरालाई १४ वर्षकै उमेरदेखि दुर्लभ एकसिंगै गैंडाको चोरी शिकारीमा संलग्न गराएको पाइएको छ ।

चितवन कालिका नगरपालिका–११ सैपामका बिन्द्रसिंह प्रजाले आफ्ना छोरा करण मुक्तान भनिने करण प्रजालाई १४ वर्षकै उमेरदेखि गैंडा चोरी शिकारीमा संलग्न गराएका हुन् । २९ वर्षीय करण प्रजा आजभन्दा १५ वर्षअघिदेखि बुबासँग गैंडाको खाग तस्करीमा संलग्न हुँदै आएका छन् । गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले ३० असार २०७२मा बाबु छोरालाई नै दोषी ठहर गर्दै जनही १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिमाना तोकेको थियो ।

त्यतिबेला गैंडाको चोरी शिकारी मुद्दामा निकुञ्जले नै फैसला गर्ने व्यवस्था थियो । फैसला भइसकेपछि उनीहरूले आफ्नो वास्तविक बासस्थान छाडेर विभिन्न स्थानमा गई लुकिछिपी बस्दै आएका थिए । त्यसक्रममा गैंडाका खाग तस्करीमा उनीहरूको संलग्नता रहँदै आयो । बिन्द्रसिंहलाई सागर प्रजा र ठूलो कान्छाका रूपमा पनि बोलाउने गरिएको छ ।

फरार प्रतिवादीको सूचीमा रहेका बिन्द्रसिंह प्रजालाई निकुञ्जले केहि दिनअघि तनहुँबाट पक्राउ गरी भरतपुर कारागार पठाएको हो । कात्तिक २०७६ देखि असाेज २०७७ सम्मको अवधिमा बिन्द्रसिंहका छोरा करणसहित १७ जनाले पुनः चारवटा गैंडा मारेको निकुञ्जको अनुसन्धानबाट खुलेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत अणनाथ बरालले बताए ।

निकुञ्जले चारवटा गैंडा मारेको आरोपमा ३२ साउन २०७८ देखि १० भदौसम्मको अवधिमा करणसहित आठजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । करणले बाबुको नाम अर्कै राखेर मकवानपुरबाट नागरिकता निकालेको पाइएको उनले जानकारी दिए । ‘करणका बुबालाई हामीले यसअघि नै तनहुँबाट पक्राउ गरी कारागार पठाएका थियौँ’, उनले भने, ‘बाबुको अर्कै नाम राखेर करण विदेश जाने तयारीमा रहेछन् । गएको भदौमा हामीले उनलाई लोथरबाट पक्राउ गरेका हौँ ।’

चारवटा गैंडा मार्नमा संलग्न १७ जनामध्ये नाैजना अझै फरार रहेको उनले बताए । उनका अनुसार निकुञ्जले गत आव २०७७/७८ मा २८ जना र यस आव २०७८/७९ मा १४ जना गरी ४२ जनालाई गैंडा चोरी शिकारी गरेको आरोपमा पक्राउ गरिसकेको छ ।

पक्राउ परेका आठजनालाई निकुञ्जले मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका–१ धारापानीका ३२ वर्षीय चतुरे भन्ने गोपाल सारु, बेनिघाट रोराङ गाउँपालिका- १ का ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठ, मनहरी गाउँपालिका–४ मसिने टोङग्राङ खोला बस्ने ३० वर्षीय जयबहादुर प्रजा र सोही ठाउँका ३६ वर्षीय दिलबहादुर प्रजा भन्ने सिंहराम प्रजालाई पक्राउ गरेको हो ।

त्यसैगरी, मकवानपुर साविक सरीखेत–९ का २९ वर्षीय करण मुक्तान भन्ने करण प्रजा, मनहरी गाउँपालिका–४ बस्ने सुरेश प्रजा, सोही ठाउँका २७ वर्षीय सरोज मुक्तान र माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

सरोज मुक्तान फोक्सोको गम्भीर खालको रोगको विरामी भएकाले सम्बन्धित् वडाध्यक्षको रोहवरमा भनेको बेला अदालतमा उपस्थित हुनेगरी घरमा बस्न दिइएको उनले बताए । मंगलबार करण प्रजाका बुबा बिन्द्रसिंह प्रजालाई कारागारबाट ल्याएर सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर