OSNepal बिहिबार, कार्तिक ११ २०७८

म लेख्दिनँ, म मेट्छु

म लेख्दिनँ, म मेट्छु

  • OSNepal
  • मंगलबार, असोज १२ २०७८


म लेख्दिनँ, म मेट्छु
Reading Time: 2 minutes

विवेक आचार्य

लेख्नै पर्नेहरुले लेख्ने आवश्यकता देख्न सक्छन्। देखे अनि लेखे। उनीहरुलाई पढिएको, मानिएको देखेर नलेख्नु पर्नेहरुले लेखे। १) खोक्रा,‌अपरिपक्कले आवेगमा लेखे २) जानकारिका भकारीले आफूलाई महाज्ञानी सम्झेर लेखे ३) कसैले आइडियल ideal कुरा लेखे ४) कथित् बुद्धिजीवीहरुले चाप्लुसी र अन्य स्वार्थका लागि निकै घातककुरा लेखे। आज नियाल्दा नलेखिनुपर्ने कुराहरु धेर लिखिएछन्। जब उत्पादन गतिलो हुँदैन, तब त्यसको विज्ञापन धेरै र धेरै राम्रो हुन्छ। सोही तरिकाले ति नलेख्नुपर्ने लेखकहरूले लेखेका नलेखिनुपर्ने कुराहरू इन्फ्लुइन्सिङ influencing बनाइयो।

आफू प्राय कुरामा अनभिज्ञ छु भन्ने कुराको बोध हुनु एउटा अपार सम्भावनाहरूको माझ जाने द्वार हो। यो बोध भएका मानिसको मानसिक अवस्था अतिउत्तम अवस्था हो। तर यो जानकारी पाएका धेरैले “आई यम् इग्नोरेन्ट” I am ignorant भन्छन्, आफ्नो अहंकारलाई टेवा दिनलाई मात्र। तर मनमा ठ्याक्कै विपरित भाव हुन्छ। त्यसैले माथि ‘बोध हुनु’ लेखिएको हो। अझ बेहेतर चाहिँ आफू प्राय कुरामा अनविज्ञ रहेको पिडा महसुस हुँदा हुन्छ। यहाँ दुई खाल्का मानसिक अवस्थाका कुरा भए। अब अर्का खालका चाहिँ त्यस्ता, जसलाई आफू सर्वज्ञानी छु भन्ने लाग्छ, जसले उनीहरूको विकास, चेतनाको स्तर र बोध क्षमतामा भोटे ताल्चा लाग्छ। जति छ, त्यति नै सीमित रहन्छन्। सीमित हुनु दुर्भाग्यपूर्ण हो।

अब चौथो प्रकार जसलाई यस आलेखमा अटाउनै पर्ने भएकाले माथिका प्रकारहरु लेखिनु पर्यो, त्यसमा जाउँ। अलिक डरलाग्दो। चाहे उनीहरूलाई सर्वज्ञानी ठानुन् या अनविज्ञ ठानुन्, परिणाम राम्रो हुँदैन। होला, अनविज्ञ ठान्नेहरु सत्यको भोका भएर प्रत्यत्न गरे भने सुध्रेलान् , तर त्यो सजिलो र छिटो छैन। अँ, यस प्रकारका मानिसले नजान्नु पर्ने जानेको छ, रक्षेसी ज्ञान, विकास हैन विनाश निम्त्याउने ज्ञान। हुन त यो राजनीतिक सीमामा सीमित कुरा होइन तर यो नेपालकै सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक हुन्छ।

जस्तै, अधिकार र विकास संगसंगै वृद्धि नगरी अधिकार मात्र वृद्धि गर्दा जस्तो अवस्था आएको छ, त्यस्तो अवस्था ल्याउने ज्ञान, धार्मिक हुने इच्छा भएकाहरूलाई निर्दोषलाई काटेर खुन चढाउन लगाई अझै पापी बनाउने ज्ञान, व्यक्तिगत विकासमा मात्र केन्द्रित गराई समुहिकताको भावना हटाउने ज्ञान, आदि थुप्रै उदाहरण छन्, यहाँ थुपार्न आवश्यक छैन। यस्तो ज्ञान बाँड्ने तिनै हुन् जसले लेख्नु हुँदैन थियो तर लेखे। पहिलो अनुच्छेदमा उल्लेख गरिएका जस्ता।

झुक्किएर काम बिगार्र्दा समेत धेरै नराम्रो परिस्थिति व्यहोर्नुपर्ने हुनसक्छ। नजानेर काम गर्दा त्योभन्दा अझै नराम्रो परिस्थिति व्यहोर्नुपर्ने हुनसक्छ। झन् असली कुरा नजानेर र गलत जानेर त्यसैमा विश्वस्त भएर जिउँदै गर्दा कस्तो परिस्थिति व्यहोर्नुपर्ने हुनसक्छ? सच्याउन सकिने होला र? कल्पाना समेत गर्न गाह्रो हुने रहेछ। अज्ञानता सबैभन्दा ठूलो दुष्टता हो भनिन्छ तर अज्ञानता भन्दा पनि दुष्ट केही छ भने असली कुरा नजान्नु र गलत जानेर त्यसैमा विश्वास गर्नु हो। कल्पना गर्नुस्, तपाईं निरन्तर कर्मनिष्ठ भइ बर्बादी गरिरहनु भएको छ, तपाईंलाई त्यो बर्बादी हो भन्ने थाहा छैन, त्यसैलाई तपाईं विकास भन्नुहुन्छ।

धेर के भन्नु, अब मेटौं, तर्कसंगत क्षमता गुम्नु अघि, यो बर्बादी- यो विकास भनेर चिन्न नसक्ने अवस्था आउनु अघि, त्यो कामको लागि जीवन या जिवानका लागि त्यो काम थाहपाउन नसक्ने अवस्था आउनु अघि, आफू मानव या कुनै धर्मको, पार्टीको, लिङ्गको, जातको, विश्वासको मात्र छुट्याउन नसक्ने अवस्था आउनु अघि।

नमेटी हुँदैन, अब मेट्नै पर्छ। लेख्नु चाहिँ पर्दैन र? भन्ने लाग्ला, प्राय चाहिने जति लेखिई सकिएका छन्। म मेटेरै व्यक्त गर्छु अनि व्यक्त गर्दै मेट्छु पनि। मलाई अझै थप्ने, अझै झर्को लगाउने, अमन लगाउने मन छैन। अतिआवश्यक भए लेखुँला। त्यसैले म लेख्दिनँ, म मेट्छु।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड