खुशीको खबर :अशक्तलाई घरमै नागरिकता, बैंक खातामै भत्ता पाउने बाटाे खुल्याे — OSNepal

खुशीको खबर :अशक्तलाई घरमै नागरिकता, बैंक खातामै भत्ता पाउने बाटाे खुल्याे

LC (KTM) September 29, 2021 0

खोटाङ, १३ असोज-खोटाङको साकेला गाउँपालिकाले अशक्त नागरिकलाई घरघरमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ।शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपांग र अशक्त नागरिकलाई पहिचान गरेर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले प्रशासनसँगको सहकार्यमा घरैमा पुगेर नागरिकताको प्रमाणपत्र पुर्‍याएको हो ।

मंगलबार साकेला गाउँपालिका-४ मात्तिमका २० वर्षीय खगिन दर्जी, साकेला गाउँपालिका-३ खिदिमा बोराटोलकी २५ वर्षीय कृष्णकुमारी खत्री र साकेला गाउँपालिका-३ खिदिमाकी २५ वर्षीया रामकुमारी राईलाई नागरिकताको प्रमाणपत्र उपलव्ध गराइएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष अर्जुन खड्काले अपांगता भएका नागरिकलाई प्रशासनका प्रतिनिधि दिनेश आचार्यको रोहवरमा नागरिकताको प्रमाणपत्र वितरण गरेका छन् । क्रमशः अन्य अशक्तलाई घरैमा नागरिकताको प्रमाणपत्र उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले अपांग र अशक्तको नागरिकता बनाउनका लागि आवश्यक कागजात तयार पारेर आफ्नो प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय पठाएको थियो । जिल्ला प्रशासन कार्यालयमा प्रकृया पुरा गरेर नागरिकता तयार भएपछि प्रशासनले आफ्नो प्रतिनिधि गाउँमै पठाएर अनुसूचीमा सनाखत गराउँदै नागरिकताको प्रमाणपत्र वितरणको व्यवस्था मिलाइएको हो ।

नागरिता पाएसँगै उनीहरुले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि नागरिकता विहिन अशक्त र अपांग लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । नागरिकता वितरणसँगै अशक्तको सामाजिक सुरक्षाभत्ता लिने बाटो खुलेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक राईले बताए ।बुधबार साकेला गाउँपालिका-२ रतन्छाका वृद्ध नन्दलाल फुयाँल लगायतलाई प्रशासनको अनूसुचीमा सनाखत गराएर नागरिकता वितरण गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर