भारतीय कम्युनिस्ट पार्टीका युवा नेता कन्हैयाबाट के पाउला काँग्रेसले ? भारतमा गरम बहस सुरु — OSNepal

भारतीय कम्युनिस्ट पार्टीका युवा नेता कन्हैयाबाट के पाउला काँग्रेसले ? भारतमा गरम बहस सुरु

LC (KTM) September 29, 2021 0

विहार, १३ असोज-भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का युवा नेता तथा प्रखर वक्ता कन्हैया कुमार देशकै पुरानो राजनीतिक दल भारतीय कंग्रेसमा प्रवेश गरेसँगै भारतमा गरम बहस हुन थालेको छ ।जेएनयुको विद्यार्थी युनियका पूर्व सभापतिसमेत रहेका कन्हैया कुमारले विहारमा कंग्रेसको ‘इमेज’ परिवर्तन गर्न मुख्य भूमिका खेल्लान त ? जातीय राजनीतिले विभाजनको दलदलमा फँसेको कंग्रेस पार्टीभित्र आफ्ना लागि एउटा नयाँ भूमिका सृजना गर्न सक्लान ? अथवा पार्टीभित्रकै बिरोधीका कारण अवसर प्राप्त गर्न उनलाई कठिन होला ? कन्हैयाको पार्टी प्रवेशसँगै बिहार कंग्रेसमा अहिले यस्तै बहस हुने गरेको छ ।

लोकसभा निर्वाचनमा भाजपा उम्मेदवार गिरिराज सिंहसँग पराजय चाखेका कन्हैयाको पार्टी प्रवेशले कंग्रेसले गुमेको साख पुनः प्राप्त हुने कतिपय कंग्रेस नेताहरुको आशा छ ।विहार प्रदेश कंग्रेस कमिटीका पूर्वप्रमुख अनिल शर्मा कन्हैयाको प्रवेशले कंग्रेसलाई लाभ मिल्ने बताउँछन् । ‘कन्हैया कुमार जहाँ गए पनि राजनीतिको केन्द्रमा छन् । उनले आमचासोका विषयमा सरकारलाई सशक्त ढंगले खबरादी गर्छन् । उनको प्रवेशले सरकारबिरोधी समूहलाई एकजुट बनाउनेछ ।’ जेएनयुकै पूव विद्यार्थीसमेत रहेका शर्मा भन्छन् ।

तर, पट्नास्थित एएन सिन्ह इन्स्टिच्युट अफ सोसल साइन्सका पूर्वनिर्देशक डीएम दिवाकर कंग्रेसबाट कन्हैया र कन्हैयाबाट कंग्रेसले खासै केही नपाउने बताउँछन् । कंग्रेसले कन्हैयालाई अगाडि बढ्न नदिने र पार्टीको हाइकमान्डले उनको कुरा नसुन्ने दिवाकर दाबी गर्छन् ।कंग्रेस पार्टीभित्र अझै पनि धेरै सम्भाव्य नेता भएको तर नयाँ व्यबस्थामा उनीहरुलाई पन्छाइएको र कन्हैया पनि त्यसकै शिकार हुने उनको तर्क छ ।

तर, पटना विश्वविद्यालयको अर्थशास्त्र विभागका पूर्व प्रमुख नवल किशोर चौधरी कन्हैयाबाट कंग्रेसले धेरै पाउने बताउँछन् ।‘कन्हैया प्रष्ट बिचार भएका प्रखर नेता हुन् । कंग्रेसको राजनीतिक आदर्शमा उनी सजिलै फिट हुन्छन् । ’ कन्हैया कंग्रेस र राष्ट्रिय राजनीतिमा नै ठूलो भूमिकामा हुने उनी बताउँछन् ।

विहारमा कन्हैयाको उदयबाट चिन्तित क्षेत्रीय पार्टी राष्ट्रिय जनता दल (आरजेडी) कन्हैयाबाट कंग्रेसले खासै उपलब्धी नपाउने दाबी गर्छ । ‘जातीय राजनीतिमा अल्झेको कंग्रेसले कन्हैयाबाट केही पाउदैन,’ आरजेडीका प्रवत्ता भाई विरेन्द्र भन्छन् ।कंग्रेस देशकै एक मात्र प्रजातान्त्रिक पार्टी भएकोले आफू कंग्रेस प्रवेश गरेको कन्हैयाको भनाई छ ।

‘कंग्रेस देशकै पुरानो र प्रजातान्त्रिक पार्टी हो । मैले जहिले पनि प्रजातन्त्रलाई जोड दिँदै आएको छु ।’ उनी भन्छन् ।‘कंग्रेस ठूलो जहाज हो । यसलाई बचाउँन सके आममानिसको भावना, महात्मा गान्धीले को चाहेको एकता, भगत सिंहको साहस र बीआर अम्बेडकरको समानताको बिचार रक्षा गर्न सकिन्छ । त्यसैले म कंग्रेसमा प्रवेश गरेको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर