छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन — OSNepal

छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन

LC (KTM) September 29, 2021 0

दार्चुला, १३ असोज-सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो ।गत वर्षबाट अवरुद्व बनेको नेपाल टेलिकमको स्काइ फोनले काम नगर्दा स्थानीयवासीले समस्या भोग्नुपरेको छांगरुका बासिन्दा योगेश बोहराले बताउनुभयो । गत वैशाख÷जेठमा कुञ्चा सरेका स्थानीयवासीले फोन गर्न पाएका छैनन् । “छांगरुमा कहिलेकाहीँ भायनेटले काम गर्छ”, बोहराले भन्नुभयो, “भायनेट नचलेको भए हामी केही खबर गर्न सक्ने अवस्थामा हुने थिएनौँ ।”

भायनेट पनि सधँै नचल्दा समस्या हुने गरेको छ । कहिलेकाहीँ महिनाँै दिनसम्म सम्पर्कविहीन बस्नुपरेको उहाँले बताउनुभयो । नेपाल टेलिकमको स्काइ फोन चल्दैन । टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले दुईपटक गएर मर्मत गरे पनि स्काइले काम गर्न नसकेको स्थानीयवासी बताउँछन् ।

एक वर्ष छांगरुमै फोरजी सेवा चल्ने नमस्तेको टावर जडान गरिएको भए पनि अझै सञ्चालनमा ल्याइएको छैन । टावरको काम भए पनि आवश्यक उपकरण आइनपुग्दा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ । तिंकर गाउँमा भने कुनै पनि फोनले काम गर्दैन । छांगरुमा राखिएको स्काइ टावरले तिंकर गाउँमा काम गर्दैन । तिंकरका लागि यस वर्ष नमस्ते टावर राख्ने गरी सर्वेक्षण गरिएको टेलिकमका प्रमुख गुरुङले बताउनुभयो ।

छांगरुमा रहेको स्काइ टावरमा सोलारपावर अभावले पनि काम गर्न नसकेको गुरुङले जानकारी दिनुभयो । नियमित घाम नलाग्दा पावर बचत हुनसकेको छैन । छांगरुका लागि थप सोलार प्यानल माग गरिएको उहाँले बताउनुभयो । मोबाइल फोनले काम नगर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि समस्या भोग्दै आएका छन् । छांगरुस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा ल्याण्डलाइन फोन जोडिएको छ । ल्याण्डलाइन पनि नियमित सञ्चालन नहुँदा समस्या हुने गरेको सुरक्षाकर्मी बताउँछन् । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर