विर्तामोडमा व्यवस्थित पार्किङस्थल नहुँदा सडक किनार नै बन्यो पार्किङस्थल — OSNepal

विर्तामोडमा व्यवस्थित पार्किङस्थल नहुँदा सडक किनार नै बन्यो पार्किङस्थल

LC (KTM) September 29, 2021 0

बनियानी, १३ असोज-झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा व्यवस्थित पार्किङस्थल नहुँदा सडक किनार नै पार्किङस्थल बनेको छ । जसकाकारण चार लेनको सडकको करिब आधा भाग सवारीसाधन पार्किङस्थलका रुपमा प्रयोग भइरहको छ ।

बजार क्षेत्रमा चार लेनको ठूलो सडक बने पनि सोको प्रत्याभूति हुनसकेको छैन । सडक किनारमा मोटरसाइकलदेखि मालबाहक ट्रकसमेत पार्किङ गरेर राखिँदा सडक खुम्चँदै गएको छ । सडक चारलेनको भए पनि आधा भाग अव्यवस्थित पार्किङले नै चर्चेको छ । जसले गर्दा बेलाबेलामा सडकमा ट्राफिक जाम हुने गरेको छ ।

“सडक किनारमा सवारीसाधन रोक्नुको विकल्प छैन”, कामको सिलसिलामा भद्रपुरबाट विर्तामोड आउनुभएका आदित्य पौडेल भन्नुहुन्छ, “पार्किङ क्षेत्र छैन, सडक किनारमा मोटरसाइकल नराखेर कहाँ राख्नु ?” विर्तामोडको भद्रपुर रोड मात्र होइन शनिश्चरे, काँकरभिट्टा, कृषिथोक रोडलगायतका साना–ठूला भित्री सडकसमेतको अवस्था भिन्न छैन । सडक क्षेत्रको आधा सडक नै ढाक्ने गरी सवारीसाधन पार्किङ गरिँदा सोही सडकमा हिँड्ने यात्रीले समेत सास्ती भोग्दै आएका छन् ।

विर्तामोडमा साना–ठूला दर्जनौंँ व्यापारिक प्रतिष्ठान खुलेका छन् । बजार क्षेत्रका सडक किनारमा सटरसहितका व्यापारिक प्रयोजनका ठूलाठूला घर बनेका छन् । तर, अधिकांश स्थानमा पार्किङको व्यवस्था छैन । भए पनि सानो र साँघुरो छ । विर्तामोडमा पार्किङ समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाईं बताउनुहुन्छ । विर्तामोडमा पार्किङका लागि छुट्टै व्यवस्था नभएकाले दुर्घटनाको जोखिम बढेको उहाँले बताउनुभयो ।

“सडक किनारमा पार्किङ गर्नु सवारीधनीको बाध्यता हो”, उहाँले भन्नुभयो, “तर, पनि उहाँहरुलाई अव्यवस्थित पार्किङ गर्ने छुट छैन ।”ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङ गर्नेलाई सम्झाइबुझाइ पठाउने गरिरहेको छ । अटेरी गर्नेलाई रू पाँच सयदेखि रू एक हजार ५०० सम्म जरिवाना गर्नुका साथै ह्वील लक, नो पार्किङमा राखिएका मोटरसाइकलको हेलमेट लगेर कारवाही गरिएको झापा ट्राफिकले जनाएको छ ।

यता, पार्किङस्थलको अभाव र अव्यवस्थित पार्किङका कारण यहाँका व्यापारीसमेत मर्कामा परेका छन् । “दसैं आउन लाग्यो, भर्खर व्यापार सुरु भएको छ”, भद्रपुर रोडका व्यापारी डम्बर श्रेष्ठले भन्नुभयो, “पसल अगाडि गाडी राखेकाले पसल छेकिन्छ, व्यापार कसरी गर्नु ?” त्यस्तै, अर्का व्यापारी अनन्तलाल महतोले बिर्तामोडमा पार्किङ गर्ने ठाउँ नभएको बताउँदै भन्नुभयो, “जताततै भीडभाड छ, पार्किङको राम्रो सुविधा भए सबैलाई सहज हुने थियो ।”

विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी नगरमा व्यवस्थित पार्किङका लागि आफू लागिपरेको बताउनुहुन्छ । विर्तामोडमा व्यवस्थित पार्किङका लागि सबैको सहयोग आवश्यक पर्ने भएकाले सहयोग गरिदिन उहाँले सबै सरोकारवालालाई आग्रह गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर