अक्षय कुमारले दर्शकलाई हात जोड्दै भने 'हलमा नै गएर मेरो फिल्म ‘सूर्यवंशी’ हेरीदिनुहोस्' — OSNepal

अक्षय कुमारले दर्शकलाई हात जोड्दै भने ‘हलमा नै गएर मेरो फिल्म ‘सूर्यवंशी’ हेरीदिनुहोस्’

LC (KTM) September 29, 2021 0

काठमाडौं, १३ असोज । बलिउड अभिनेता अक्षय कुमारले सबै दर्शकलाई हलमा गएर फिल्म हेर्न अनुरोध गरेका छन् । उनले हालै दिएको एउटा अन्तर्वार्तामा आफू डेढ वर्षदेखि दर्शकलाई फिल्ममार्फत मनोरञ्जन दिन आतुर रहेको बताउँदै अब जनजीवन सामान्य हुँदै गइरहेकाले हलमै गएर फिल्म हेरी मनोरञ्जन उद्योगलाई पुनर्जीवित गर्न आग्रह गरेका हुन् ।

कोरोनाका कारण विगत डेढ वर्षयता भारतलगायत विश्वभरकै सिनेमा हल बन्द अवस्थामा रहेकाले दर्शकलाई हलमा जाने बानी पुनः लगाउन अझै मिहिनेत गर्नुपर्ने धारणा उनको छ । आफू अभिनित मल्टिस्टारर फिल्म ‘सूर्यवंशी’ तिहारमा रिलिज हुन लागेको र सोही सन्दर्भमा अक्षयले दर्शकलाई हलमा जान अनुरोध गरेका हुन् ।

महाराष्ट्र प्रदेश सरकारले २२ अक्टोबरदेखि सिनेमा हल खोल्न दिने निर्णय गरेसँगै बलिउडमा भटाभट फिल्म प्रदर्शन मिति तोकिएको छ । अक्षय अभिनित ‘सूर्यवंशी’ लगायतका ६ वटा फिल्मले लगालग प्रदर्शन मिति सार्वजनिक गरेका छन् ।

अक्षयले अब भारतीय फिल्म उद्योग पहिलाको भन्दा अझ राम्रोसँग विकास हुने विश्वास ब्यक्त गरेका छन् । ‘विगत डेढ वर्ष इन्टरटेन्मेन्ट उद्योगका लागि निकै खराब समय थियो । अब दिन सुध्रिसकेको महसुस भएको छ,’ उनले भनेका छन्, ‘अब फिल्म उद्योग अझ परिस्कृत भएर जाने विश्वास मलाई छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर