मुटु रोगबाट नेपालमा बर्सेनि ३० हजारले ज्यान गुमाउँछन् — OSNepal

मुटु रोगबाट नेपालमा बर्सेनि ३० हजारले ज्यान गुमाउँछन्

LC (KTM) September 29, 2021 0

काठमाडौं, १३ असोज । अस्वस्थ खानपान र जीवनशैलीका कारण अहिले वयस्क उमेर समूहका मानिसमा पनि मुटु रोग देखिन थालेको छ ।

धुम्रपान, मद्यपान तथा लागुऔषधको प्रयोग गर्ने युवाहरूमा अहिले मुटु रोगका साथै हृदयाघातको समस्या देखिन थालेको कार्डियोलोजी विभागका आवासीय चिकित्सक डा. अशोक श्रेष्ठले बताए । ‘सामान्यतया ५०-६० वर्ष उमेर समूहका मानिसमा मुटु रोगको जोखिम बढी हुने भए पनि हाल वयस्कमा समेत मुटु रोगको समस्या देखिने गरेको छ’, श्रेष्ठले न्युज कारखानासँग भने, ‘स्वस्थ मुटुका लागि जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक छ ।’

स्वास्थ्य सेवा विभागले गरेको स्वास्थ्य जनसांख्यिक सर्वेक्षण, २०१६ को तथ्यांकअनुसार वयस्क उमेर समूहका २३.४ प्रतिशत पुरुष र १६.८ प्रतिशत महिलामा यो समस्या देखिएको छ ।

नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटु रोगी रहेका छन् । दक्षिण एसियामा मुटु रोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो स्थानमा छ ।

मुटु रोगबाट नेपालमा बर्सेनि ३० हजार मानिसले ज्यान गुमाउने गरेका छन् । सन् २०३० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

नेपालमा एक लाख जनसंख्यामा ५६९ पुरुष र ४७९ महिला मुटु रोगले प्रभावित हुने गरेको पाइएको छ, जसमा १६ प्रतिशतलाई हृदयाघात, छदेखि १० प्रतिशतलाई मुटुको बाथरोग, चार देखि १० प्रतिशतलाई मुटुको धड्कनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने हुने गरेको तथ्यांकले देखाएको छ ।

मुटु रोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्चरक्तचाप, छदेखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा कोलेस्ट्रोल, २० देखि २५ प्रतिशतमा धुम्रपान र १५ देखि २० प्रतिशत मोटोपन रहेको छ ।

विश्व मुटु महासंघका अनुसार बर्सेनि एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ, जसमा विकासोन्मुख र अविकसित देशहरूमा मुटु रोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ । सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट मृत्यु हुनेको संख्या बर्सेनि दुई करोड ५० लाखसम्म पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।

विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटु रोग रहेको छ । मुटु रोगका कारण मृत्यु हुनेमा पनि ८५ प्रतिशत हृदयाघात रहेको तथ्यांकले देखाएको छ । विश्वमा मुटुको समस्याका कारण सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्छन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको छ । विश्वमा नै मुटु रोगीको संख्या लगातार बढिरहेको छ ।

मुटु रोगको बढी जोखिममा पुरुष

महिलाको तुलनामा पुरुषमा मुटुको समस्या बढी हुने गर्छ। विशेषतः महिनावारी हुने उमेर समूहका महिलामा महिनावारीका कारण शरीरमा उत्पादन हुने हर्मोनका कारण हृदयाघात न्यून हुने गर्छ । पुरुषमा यस किसिमका हर्मोन नहुने भएका कारण सो उमेर समूहका पुरुषमा जोखिम बढी हुने गरेको हो । तर, महिनावारी नभएका उमेर समूहका महिलामा भने हृदयाघातको जोखिम पुरुष सरह नै हुन्छ ।

शहरमा बस्ने व्यक्तिहरूको व्यस्त जीवनशैलीका कारण मुटुसम्बन्धी रोगको जोखिम बढी हुन्छ । तर, अहिले गाउँले जीवनशैली पनि शहरको सरह नै भइसकेको अवस्थामा मुटुको समस्या गाउँमा पनि धेरै देखिन थालेको छ । गाउँमै उत्पादित खानाको सट्टा जंक फुडको प्रयोग बढेकाले गाउँमा यो समस्या देखिएको कार्डियोलोजिस्ट श्रेष्ठको भनाइ छ । ‘अहिले सजिलोका लागि तयारी खाना नै खाइन्छ । गाउँमा पनि जीवनशैली शहरको जस्तै बन्न थालेको छ’, श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर