हिउँले ढपक्कै ढाक्यो मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र, रानीपौवा बजार चाँदी झै टल्कियो



जोमासोम, पुष १८ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात भइरहेका बेला मुस्ताङको मुक्तिनाथ मन्दिर हिमपातले ढाकेको छ । गएरातीदेखि नै परेको हिउँले मन्दिर र आसपासको क्षेत्र सेताम्मे भएको छ। करिब १५ घण्टा बढी समयदेखि भइरहेको हिमपातका कारण मन्दिरको छानो र भित्रि प्रवेशद्वार ढाकिएको छ । त्यस्तै मन्दिर परिसरको कुण्ड ,१०८ धारा र आसपासमा पुरै बाक्लो हिउँ जमेको छ । जोमासोम प्रहरीका अनुसार बाक्लो हिउँले मुक्तिनाथ क्षेत्र र रानीपौवा बजार चाँदी झै छपक्‍कै ढाकिएको छ ।

हिउँ परेसँगै मुक्तिानाथ क्षेत्रमा अत्यधिक जाडो बढेको छ भने पर्यटक र स्थानीय घर बाहिर निस्किन सक्ने अवस्था नभएका कारण सो क्षेत्रको जनजीवन ब्यापक रुपमा प्रभावित बनेको छ । हिउँले रानीपौवा बजार बाहिर रहेको मुक्तिनाथ बसपार्क र रानीपौवा बजार हुँदै मुक्तिनाथ जाने पैदलमार्ग छोपिएका कारण सवारी समेत प्रभावित बनेको छ ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।

Comment
error: Content is protected !!