रुकुमपूर्वमा निर्माण सुरु भएको छ वर्षपछि सडक पुलले पूर्णता पायो — OSNepal

रुकुमपूर्वमा निर्माण सुरु भएको छ वर्षपछि सडक पुलले पूर्णता पायो

LC (KTM) October 01, 2021 0

रुकुमपूर्व, १४ असोज-रुकुमपूर्वमा निर्माण सुरु भएको छ वर्षपछि सडक पुलले पूर्णता पाएको छ । जिल्लाको सिस्ने गाउँपालिका–६ र ३ लाई जोडने गरी सानीभेरी नदीमा निर्माण गरिएको पुलले लामो समयपछि पूर्णता पाएको हो ।

सम्झौता भएको मितिपछि तीन पटक म्याद थपेर पूर्णता पाएको ८० मिटर लामो सडक पुलको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले उद्धघाटन गर्नुभएको छ । सो अवसरमा उहाँले विकास निर्माणका कार्यहरुले तिव्रता लिँदै गरेको बताउनुभयो ।

सङ्घीयताको धर्म र मर्मअनुसार कामकाज भइरहेको भन्दै बताउदै उहाँले गाउँठाउँमा सडक, विद्यालय निर्माण भएको बताउनुभयो । “जनताले छिटै प्रतिफलको आशा राख्छन्, सबै कुराहरु क्रमशः हँुदै जान्छन् नआत्तिनुहोला”, उहाँले भन्नुभयो ।

विसं २०७३ असार ३१ मा सम्झौता भएको पुल निर्माणको काम २०७५ असार ३० मा सम्पन्न गरिसक्नुपर्ने थियो । सम्झौता अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक २०७५ पुस ३० मा साविकको जिल्ला विकास समितिबाट म्याद थप भएको थियो । थप भएको म्यादमा पनि काम सम्पन्न नभएपछि दोस्रो पटक २०७७ पुस ३० मा म्याद थप भएको सडक पूर्वाधार विकास कार्यालय रुकुम (पूर्व) का प्रमुख गोविन्दबहादुर महत्राले बताउनुभयो ।

उहाँका अनुसार दोस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नभएपछि तेस्रो पटक २०७८ असार २५ मा म्याद थप भएको थियो । तेस्रो पटक थपिएको समयमा पुल निर्माणले पूर्णता पाएको हो । पुल निर्माणको जिम्मा मृत संजीवनी निर्माण सेवा हेटौडाले ल्याएको थियो । रु आठ करोड ८६ लाख ८१ हजारमा पुल निर्माणको काम सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर