चौबिसे राज्यका पालाको शक्तिशाली दरबार अहिले सङ्कटमा



बागलुङ, २९ पुस – कुनै दिन गलकोट दरबार बिरुप भए अचम्म नमान्दा हुन्छ । इतिहासको साक्षी दरबारको सौन्दर्य विस्तारै नासिँदैछ । चौबिसे राज्यका पालाको शक्तिशाली दरबार अहिले आफ्नै अस्तित्व सङ्कटबाट गुज्रेको छ । उबेलाको सेतो दरबार धुमलिएर उजाड छ ।प्रवेशद्वारबाटै दरबारको दुर्दशा शुरु हुन्छ । पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार छिर्दा अवस्था झनै छर्लङ्ग हुन्छ । संरक्षणविहीनताको अवस्थामा पुगेको दरबारले मानिसलाई गिज्याएझैँ भान मिल्छ । दरबार नियतिको अँध्यारोमा मिल्किएको छ । प्रवेशद्वार भताभुङ्ग छ । पर्खाल र सिँढीका ढुङ्गाले ठाउँ छाडेका छन् ।

पोखरी पनि सौन्दर्यहीन छ । बगैँचामा फूल छैनन् । दरबारका झ्याल, ढोका र बुइँगल मक्किएका छन् । कोठा र भित्ताको रङ्ग हराएको छ । छानो जीर्ण छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबार सुनसान छ । करिब पाँच रोपनी जग्गामा फैलिएको कुनै बेलाको हराभरा दरबार क्षेत्र अहिले यसै उराठ छ । विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो ।तत्कालीन राजा थिए । त्यहीबाट गलकोटको राजकाज चल्थ्यो । त्यो बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय ग¥यो । त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लाने गलकोटकै राजा भरतबम मल्ल हुनुहुन्थ्यो ।

उहाँ २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत हुनुभएको थियो ।गलकोट राज्य नरहे पनि तत्कालीन राजपरिवार दरबारमै बस्थे । दरबारको रेखदेख, संरक्षण गर्थे । समय बित्दै गयो । व्यवस्था फेरिँदै गए । दरबार पनि पुरानो भयो । विसं २०३९ मा राजा भरतबमको निधन भयो । दरबार संरक्षणको जिम्मा नाति माधवबममा स¥यो ।परिवारसहित दरबारमा बस्दै आउनुभएका उहाँको सशत्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्षबाट हत्या भयो । माधवबम त्यतिबेला शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो ।

विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ स¥यो । दरबारमा बस्ने, रेखदेख गर्ने कोही भएनन् । दरबारका दुर्दिन शुरु भए । “द्वन्द्वको मारमा परेपछि दरबारको नियमित रेखदेख, संरक्षण हुन सकेन”, माधवबमका छोरा मञ्जेशबमले भन्नुभयो, “दरबारमा नराम्रो घटना भयो, दरबारका ऐतिहासिक दस्तावेज, सामग्री सबै लुटिए ।”दरबार अहिले मञ्जेशबमकी आमा सरोजा मल्लको नाममा छ । बेलाबेलामा गलकोट आउँदा सरोजा र उहाँको परिवार दरबारमै बस्छन् । “हाम्रो स्वामित्वमा रहे पनि दरबार संरक्षण गर्न खोजेका छौँ, विविध कारणले ढिला भइरहेको छ”, मञ्जेशबमले भन्नुभयो, “डिपिआर बनाएर संरक्षणको काम थाल्ने योजना छ ।”

पुरातात्विक हिसाबले जीर्णोद्धारसहित दरबारको उचित संरक्षण गरिने उहाँको जानकारी दिनुभयो । विसं १९८९ मा बनेको दुई तले दरबार ढुङ्गा, इँटा र काठ प्रयोग गरेर बनाइएको छ । दरबारको वरिपरि प्रयाप्त खुला ठाउँ छ । राज्य चलाउँदा बसेका चौकी, अड्डा र मालका भवनसमेत अझै छन् । दरबारको पछाडि नारायण मन्दिरसहित शीतलपाटी र ठूलो बगैँचा छ । मन्दिरमा नियमित पूजाआजा हुन्छ ।दरबारअघिको मौलोमा मल्लहरुले कूलको पूजा गर्छन् । वर्षेनी दशैँको नवमीमा विशेष पूजाआजा हुने गरेको वडाध्यक्ष नारायणध्वज मल्ले बताउनुभयो ।

उहाँले दरबारको संरक्षणका लागि वडाले उचित पहल गर्न नसकेको स्वीकार गर्नुभयो । “यो वर्ष केही गर्न सकिएन, अर्को वर्ष वडाले सम्बोधन गर्छ”, उहाँले भन्नुभयो ।गलकोट दरबारलाई सार्वजनिक गर्नुपर्ने आवाज पनि नउठ्ने गरेको होइन । सरकारले संरक्षणको सुनिश्चितता नगरेसम्म स्वामित्व हस्तान्तरण गर्ने पक्षमा मल्ल परिवार छैन । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दरबार व्यक्तिगत सम्पत्तिका रुपमा रहेका कारण लगानी गर्न असजिलो परेको बताउनुभयो ।

“दरबार हाम्रो ऐतिहासिक धरोहर हो, यसको संरक्षण हुनुपर्छ”, उहाँले भन्नुभयो, “मल्ल परिवारले पनि सामान्य मर्मतसम्भार शुरु गरेको छ, निजी क्षेत्रमा गर्न सकिने सहयोगको कानूनी आधार र उदाहरण हेरेर दरबार संरक्षणमा नगरपालिका जोडिन्छ ।”उचित संरक्षण गर्नसकेमा दरबार पर्यटकीय केन्द्र बन्नेमा कुनै शङ्का छैन । जीर्ण अवस्थामा पनि दरबार पर्यटकको रोजाइमा छ । पर्यटकीय याम र सार्वजनिक बिदाका दिनमा दरबार घुम्ने धेरै हुन्छन् ।

ऐतिहासिक महत्व बोकेको भएका कारण विद्यार्थी, अनुसन्धानकर्ताका लागि गलकोट दरबार उपयुक्त गन्तव्य मानिन्छ ।गलकोट तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली राज्य मानिन्थ्यो । हरिचौरमा दरबार बन्नुअघि मल्ल राजाहरुले हरिचौरकै सर्दाखेत, वडा नं ३ हटियाको राजघरा र कोतघरबाट स्वतन्त्र गलकोट राज्य चलाएका थिए । राजा भरतबम विसं १९९० मा सर्दाखेतबाट हरिचौरको दरबारमा सरेको इतिहासमा उल्लेख छ ।गलकोट राज्यका पहिलो राजा जितारी मल्लले विसं १६३१ मा हटियास्थित कोतघरबाट पहिलोपटक शासन शुरु गरेका थिए । त्यसयता मल्ल राजाहरुले सोही कोतघरबाट २१३ वर्षसम्म राज्य चलाएका थिए ।

विसं १८४४ मा गलकोट राज्य गोरखा राज्यमा एकीकरण भएपछि गलकोटमा रजौटाको शासन शुरु भयो । नेपालको एकीकरणपश्चात् मल्ल राजा हटिया बजार नजिकको राजघरा हुँदै वडा नं ५ हरिचौरको सर्दाखेत सरेका थिए । विसं १९६८ को अन्त्यतिर राजा नारायणबम मल्लको निधन भएपछि भरतबम मल्ल गलकोट राज्यका अन्तिम राजा हुनुभएको थियो । (रासस)

Comment
error: Content is protected !!