सभामुख चयन अविलम्ब हुनुपर्छ : देउवा



विराटनगर, १ माघ  :नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताउनुभएको । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै आफ्नो पार्टीलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गरिने जिकिर गर्नुभयो ।

सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवादका कारण सभामुखको चयनमा ढिलाइ भएको प्रसङ्ग उल्लेख गर्दै सो पार्टीभित्र गुटउपगुट रहेको जनताले प्रष्टरूपमा थाहा पाएको बताउनुभयो ।उहाँले संसद्को गतिरोध हटाउन चाँडै संसदीय दलको बैठक बोलाउने र त्यसबाट ठोस निर्णय लिने जानकारीसमेत दिनुभयो । सभापति देउवाले संवैधानिक प्रावधानअनुसार प्रदेशमा सभामुख वा उपसभामुखमध्ये एक पद पाउनुपर्ने हो तर संविधानविपरीत कार्य भएकाले अविलम्ब सच्याउनुपर्नेमा जोड दिनुभयो ।

एक प्रश्नको जवाफमा सभापति देउवाले बहुचर्चित एमसिसीलाई नेपाली काँग्रेसले पहिला नै समर्थन गरिसकेको र सरकारले पास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने बताउँदै पार्टीभित्र रहेका केही सामान्य समस्या समाधान गर्दै सङ्गठन बलियो बनाउने जिकिर गर्नुभयो ।(रासस)

Comment