दशवर्ष अरबको खाडीमा पसिना बगाएर नेपाल फर्केका म्याग्दीका ३७ वर्षीय युवकले गरे कमाल — OSNepal

दशवर्ष अरबको खाडीमा पसिना बगाएर नेपाल फर्केका म्याग्दीका ३७ वर्षीय युवकले गरे कमाल

LC (KTM) October 01, 2021 0

गलेश्वर प्रायः नेपाली युवा रोजगारीका लागि विदेश जान मरिहत्ते गर्छन् । उनीहरुको पहिलो रोजाइ बैदेशिक रोजगारी नै हुने गर्दछ । म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका युवा सुरेश ढुङ्गानाले आफ्नै पौरखले गाई, भैँसीको गोठ र कुखुराको खोर बनाउनुभएको छ । दशवर्ष अरबको खाडीमा पसिना बगाएका ३७ वर्षीय उहाँले पेशा परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्ने ज्ञान अरबको खाडीबाट प्राप्त गर्नुभयो । “ मैले खाडीमा जीवनको महत्व र स्वदेशको सम्भावनालाई बुझेँ”, उहाँले भन्नुभयो ।

स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका उहाँलाई गाउँ आएपछि साथीले अमेरिका आग्रह समेत गरे । उहाँले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो ।

साथीहरुले उहाँका विचारलाई उडाए । बुद्धि नभएको भने उहाँ आफ्नो निर्णयमा अडिग रहनुभयो । अनि सुरु गर्नुभयो भैँसीपालन व्यवसाय । यो आठ वर्ष पहिलेको कुरा हो । यसबीचमा उहाँको जीवनमा पनि धेरै आरोहअवरोह आए । अनेकौँ घुम्ती र मोड आए र गए । उहाँले आठ वर्ष अगाडि ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ स्थापना गरेर व्यवसाय सुरुआत गर्नुभयो । त्यही फार्ममा अहिले २२ मुर्रा जातका भैँसी र दुई जर्सी गाई दुहुना छन् ।

उहाँ अहिले दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्नुहुन्छ । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले उहाँले मासिक रु पाँच लाख आम्दानी गर्नुभएको छ । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा बचत हुने उहाँको भनाइ छ । फार्ममा अहिले रु ५० लाख जति लगानी भइसकेको उहाँले बताउनुभयो । भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ ।

“बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पु¥याएउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक १५० लिटर दूध पु¥याएपछि बल्ल शरीरमा फूर्ति आउँछ”, उहाँले भन्नुभयो ।

प्रतिलिटर रु ९० मा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो । व्यवसायी ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पु¥याउनुहुन्छ । “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर गुणस्तरलाई खस्कन दिनुहुँदैन”, ढुङ्गानाले भन्नुभयो ।

पशुपालन व्यवसायमा परिश्रम गर्नसके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव उहाँले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फार्म बनाउनुभएको छ भने फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ ।

भैँसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गानले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्ये कमाइ गर्न सकिने बताउनुहुन्छ ।

उहाँको सफलताको कथा यत्तिकैमा सकिदैन । भैँसीपालनसँगै उहाँले कुखुरापालन पनि सुरु गर्नुभएको छ । अहिले उहाँका फार्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने उहाँको मासिक रु आठ लाख पुग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर