मदन भण्डारी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सोलुखुम्बुमा हुने



विराटनगर  -नेपाल भ्रमण वर्ष– २०२० सफल बनाउन मदन भण्डारी स्पोर्टस् एकेडेमीले प्रदेश नं १ स्तरीय तेस्रो पुरुष भलिबल प्रतियोगिता सर्वोच्च शिखर ‘सगरमाथा’को काख सोलुखुम्बुमा गर्ने भएको छ । एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाद्वारा  यहाँ आयोजित पत्रकार सम्मेलनमा यही फागुन ६ गतेदेखि १० गते सोलुखुम्बुको सल्लेरीमा प्रतियोगिता गर्ने जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रतियोगिताले दुर्गम क्षेत्रमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन बल पुग्नुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।प्रदेशका १४ जिल्लाका टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेल सञ्चालन गरिने एकेडेमीका सदस्य रोहित कोइरालाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५१ हजार, द्धितीयलाई रु एक लाख र तृतीयलाई रु ५० हजार तथा सान्त्वना टिमलाई रु २५ हजार पुरस्कारका साथै ट्रफी प्रदान गरिने भएको छ । अन्य विधाका उत्कृट खेलाडीलाई रु १५ हजार र रु १० हजार पुरस्कार प्रदान गर्ने व्यवस्था रहेको छ । खेल सम्पन्न गर्न रु ४८ लाख एक हजार खर्च लाग्ने अनुमान छ । यसअघि पहिलो र दोस्रो संस्करण विराटनगर र धनकुटामा सम्पन्न भइसकेको छ । (रासस)

Comment