पारपाचुके पछि आयो रामकृष्ण ढकाल दम्पतीको रोमान्टिक म्युजिक भिडियो



पछिल्लो समय पारपाचुकेका कारण चर्चामा रहेका गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकाल भ्यालेन्टाइन डे को पुर्व सन्ध्यामा संगै एउटा रोमान्टिक म्युजिक भिडियोमा देखा परेका छन्। उनीहरूको पारपाचुकेको सम्बन्धमा धेरै सवालहरू पनि उठे। बैंकको होम लोनमा चुर्लम्म डुवेका ढकाल दम्पतीले यसबाट बच्न नक्कली पारपाचुके गरेको चर्चा पनि नचलेको हैन्। काठमाडौं जिल्ला कार्यालयमा गएर पारपाचुके गरेको समाचार मिडियामा आए लगत्तै ढकाल दम्पतीलाई कहिल्यै अलग्गै देखिएन। उक्त पारपाचुके भएको पर्सीपल्टै उनीहरू काठमाडौंमा सम्पन्न रन्जित गजमेर सांगीतिक साँझमा छोरीको साथामा केही पनि नभएको जस्तो देखिएका थिए। त्यसपछी आएका रामकृष्णका केही अभिव्यक्तिहरूले पनि उनीहरूको पारपाचुके माथि धेरै सवालहरू खडा गरेको थियो। अहिले यसरी रोमान्टिक म्युजिक भिडियोमा संगै देखिँदा ढकाल दम्पतीको पारपाचुके नक्कली हो भन्नेहरूलाई थप बल पुगेको छ। रामकृष्ण ढकाल कै आवाजको “तिम्रै बारे” बोलको गीतको म्युजिक भिडियोमा उनी आफ्नी पत्नीसंग एकसाथ देखिएका हुन्। यसमा ढकाल दम्पतीले स्वयं मोडलिङ गरेका छन्। अमेरिकमा रहेर गीत लेखनमा सक्रिय मनिष बसिस्टको शब्द रहेको यस गीतका संगीतकार सुरेन्द्र मान सिङ  हुन् भने संगीत संयोजन रिकेश गुरुङ हुन् । निकै रोमान्टिक शैलीमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोका निर्देशक गम्भीर बिस्ट हुन् भने सम्पादन नवीन निरौलाले गरेका हुन् र छायांकन नवराज उप्रेतीले गरेका हुन्।

Comment