आगलागीमा परेर मृत्यु भएका भण्डारीका परिवारलाई राहत वितरण



लम्की: कैलालीको टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा परेर मृत्यु भएका ७० वर्षीय लालबहादुर भण्डारीका परिवारलाई टीकापुर नगरपालिकाले राहत वितरण गरेको छ ।नगरपालिकाले भण्डारीका नाति श्यामबहादुरलाई किरिया खर्चका लागि रु २५ हजार हस्तान्तरण गरेको हो । राहत हस्तान्तरण गर्दै नगर प्रमुख तपेन्द्रबहादुर रावलले दुखद् घटना भएकाले पीडामा परेकासँग सरकार सँगै छ भन्ने अनुभूति गराउन क्रियाखर्च उपलब्ध गराइएको बताउनुभयो ।

“हामी नगरवासीको सुख र दुःखमा सँगै छौँ भन्ने अनुभूति दिलाउने उद्देश्य हो । यस्तो विपद्का बेला किरिया खर्चसम्म दिनुपर्छ भनी यो रकम दिएका हौँ”, नगर प्रमुख रावलले भन्नुभयो, “थोरै रकम भए पनि पीडामा दुःख साट्न आएका हौँ ।”सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको नदी किनारमा रहेको खरबारीमा आगलागी हुँदा भैँसी चराउन गएका भण्डारीको मङ्गलबार जलेर मृत्यु भएको थियो । खरमा लागेको आगो भण्डारीको लुगामा सल्केपछि भण्डारी भाग्न नसक्दा जलेर मृत्यु भएको थियो ।(रासस)

Comment