OSNepal आइतबार, मंसिर १९ २०७८

शिशु हेरचाह केन्द्रले यसरी फेरियो आमाहरूको दैनिकी, गर्न थाले अर्थोपार्जनका काम

शिशु हेरचाह केन्द्रले यसरी फेरियो आमाहरूको दैनिकी, गर्न थाले अर्थोपार्जनका काम

  • OSNepal
  • शनिबार, असोज १६ २०७८


शिशु हेरचाह केन्द्रले यसरी फेरियो आमाहरूको दैनिकी, गर्न थाले अर्थोपार्जनका काम
Reading Time: 2 minutes

तेह्रथुम, १५ असोज- जिल्लाको म्याङलुङ नगरपालिका- ८, आम्बुङकी २८ वर्षीया डम्बरकुमारी लिम्बूका तीन छोरा र एक छोरी गरी चार जना सन्तान छन् । आठ वर्षकी छोरी कक्षा १ र सात वर्षे छोरा एलकेजीमा पढ्छन् ।

उनका जुम्ल्याहा दुई छोरा छन् । उनीहरू अहिले तीन वर्षका पुग्दै छन् । ठूला दुई नानी हुर्काउन डम्बरकुमारीलाई हम्मेहम्मे पर्‍यो । घरको काम र मेलापातमा कति दिन त नानीलाई पिठ्युँमा बोकेर काम गर्न जानुपर्थ्यो । उनीहरूलाई विद्यालय जाने बानी बसाउन झनै मुस्किल परेको थियो । तर, अहिले दुई जुम्ल्याहा छोराका बारेमा त्यति धेरै चिन्ता छैन उनलाई ।

घर नजिकै खुलेको शिशु हेरचाह केन्द्रमा डम्बरकुमारीले छोरालाई राख्न थालेको १५ महिना भयो । स्थानीय महिला आबद्ध शुम्भोलुङ महिला समूहले खोलेको केन्द्रमा बिहान १० देखि साँझ ५ बजेसम्म छ महिनादेखि विद्यालय उमेरपूर्वका बालबालिकाको हेरचाह गर्ने व्यवस्था मिलाइएको छ । अहिले उनका छोराहरू आफैँ केन्द्रमा जान थालेका छन् ।

हेरचाह केन्द्रमा गएर बस्ने, खेल्ने र आफू जस्तै अरू साथीसँग रमाउने उनीहरूलाई बानी परिसकेको छ । घरमा दुई-चार जना मान्छे आउँदा पनि हेरचाह केन्द्रमा रहेका शिशुहरू बोल्न डराउँदैनन् । आमाको काखबिनै पनि उनीहरूलाई घुलमिल गर्ने, खेल्ने, रमाउने, खाने बानी परिसकेको छ ।

त्यस्तै, सन्जु राईकी तीन वर्षकी छोरी पनि केन्द्रमा आफैँ जाने गरेकी छन् । छोरी केन्द्रमा गएपछि ढुक्कले घरायसी काम गर्दै आएकी छन् सन्जु । केन्द्र स्थापनाले शिशुलाई राम्रो मात्र होइन, परिवारलाई नै सजिलोसमेत बनाएको उनको भनाइ छ ।

शिशुहरूको स्याहार सुसार गर्ने समय आमाहरूले अर्थोपार्जनका क्रियाकलापमा खर्चिएका छन् । आफूले उत्पादन गरेको वस्तुलाई बजारसम्म पुर्‍याउने अवस्था थिएन यहाँका महिलाहरूलाई । गाउँमै समूह स्थापना भएपछि यहाँका महिलाको अवस्थासमेत फेरिएको छ ।

करेसाबारीमा उत्पादन भएका तरकारी तथा फलफूल बिक्री गर्ने बानीको विकास मात्र भएको छैन, विभिन्न व्यावसाय गरी राम्रो आम्दानी लिनसमेत सफल भएका छन् । खाली जमिनहरूमा अदुवा, अकबरे, साग, मूलालगायत विभिन्न तरकारी उत्पादन गरी आम्दानी लिँदै आएका छन् ।

शिशुलाई केन्द्रमा राखेर बचेको समयमा आयआर्जनको काममा व्यस्त हुन्छन् यहाँका महिलाहरू । करेसामा उत्पादन भएको तरकारी बिक्रीबाट १० रुपैयाँ पनि आम्दानी नै हो भन्ने सोचको विकास भएको समूहकी सदस्य कोमलकुमारी लिम्बूले बताइन् । आफ्नै बारीमा उत्पादन भएको तरकारी बिक्रीले परिवार धान्नसमेत टेवा दिँदै आएको छ उनीहरूलाई ।

तरकारी बिक्रीबाट मात्र यहाँका माहिलाहरूले मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी लिन थालेका छन् । गाउँमा रहेको समूहले शिशु हेरचाह केन्द्र संचालन गरेको हो । केन्द्रमा गाउँका १० जनासम्म बच्चा ल्याउने गरिएको छ । समूहले नै बच्चाको रेखदेखका लागि हेरालु राखेको छ । एक जना हेरालुबाटै केन्द्रमा आउने आठदेखि १० जना बच्चाको रेखदेख, खुवाइपिलाइ र सरसफाइ हुन्छ ।

समूहको आफ्नै भवन छ । बच्चालाई आवश्यक कपडा, खेलौना, खाना बनाउने सामग्री आदि व्यवस्थापन गरिएको छ । केन्द्र खुलेपछि गाउँका महिलाको व्यक्तित्व विकास र आयआर्जन दुवैतर्फ सहयोग पुगेको समूहकी अध्यक्ष योगिता लिम्बूले बताइन् । २०६९ सालमा गठन भएको समूहमा गाउँका ३६ जना महिला सदस्य छन् ।

समूहले २०७१ सालदेखि सामुदायिक शिशु हेरचाह केन्द्र संचालनमा ल्याएको हो । केन्द्र संचालनका लागि समूहले स्थापना गरेको अक्षयकोषमा अहिले पाँच लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । समूहका सदस्यहरूले मासिक १० रुपैयाँ बचत गर्दै आएका छन् भने हेरचाह केन्द्रमा शिशु राख्ने सदस्यले मासिक १०० रुपैयाँका दरले सो कोषमा जम्मा गरिरहेका छन् ।

स्थानीय प्रेमबहादुर सम्बाहाम्फेले निःशुल्क पाँच आना जग्गा दिएपछि समूहका महिला आफैँले तीन लाख रुपैयाँ लागतमा एक तले भवन बनाएका हुन् । अध्यक्ष लिम्बूका अनुसार लिम्बू समुदायको बाहुल्य रहेको गाउँका महिलाले बच्चालाई केन्द्रमा राखेर आयआर्जनका गतिविधि गरेका छन् । कतिपयले बाख्रा, बङ्गुर र पशुपालन गरेका छन् भने कतिपयले अदुवा, अकबरे र तरकारी खेती गरेका छन् ।त्यसबाट आएको रकमले उनीहरूको व्यक्तिगत र पारिवारिक जीवनलाई सहज बनाएको अध्यक्ष लिम्बूको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड