महाकालीको पानी बुरकिलमा किसान हर्षित, छ्याब्याल पानी भएपछि भन्छन् सपना पुरा भयो — OSNepal

महाकालीको पानी बुरकिलमा किसान हर्षित, छ्याब्याल पानी भएपछि भन्छन् सपना पुरा भयो

LC (KTM) October 02, 2021 0

बैतडी, १५ असोज-बैतडीको दशरथचन्द नगरपालिका वडा न. १० स्थित बुरकिल गाउँका बासिन्दाहरु सीमा नदी महाकालीको तटीय क्षेत्रमा बस्ने भए पनि खानेपानी र सिँचाईको समस्याबाट गुज्रिरहेका थिए । तर अहिले उनीहरुको खेतमा सिँचाईका लागि महाकालीबाट लिफ्टिङ प्रणालीको पानी पुर्‍याइएको छ ।

दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र अक्सफाम, रुडेश बैतडीको प्राविधिक सहयोगमा बुरकिलमा सिँचाई योजना पुगेको हो । बुरकिलका २४ घरपरिवारको २९० रोपनी बाझो खेतमा सिँचाईका लागि ६३ एमएमको पाइपबाट पानी आएसँगै किसानहरु हर्षित भएका छन् ।

७३ बर्षीय मानबहादुर चन्दले भने, ‘मेरा बाजे र बुवाले यो देख्न पाएका भए कति खुसी हुन्थे होला? अहिले त गाडी मोटर चलेका छन् । यता उब्जनी नभए मधेशको चामल खान मिल्छ । तर उबेला यसै खेतमा अन्न फलेपछि खान्थ्यौं । नत्र भोकै बस्थ्यौं । म बुढोलाई खेतमा यसरी पानी आउला भन्ने लागेको थिएन । तर नसोचेको कुरा भयो, छ्याब्याल पानी आयो । अब हामी ढुक्कसँग मौसमी र बेमौसमी खेतीपाती गरी पर्याप्त कृषि उपज उत्पादन गर्नेछौं ।’

बुरकिलका किसानका लागि दशरथचन्द नगरपालिकाले धेरै रकम खर्च गरेको भने होइन । ३ लाख ८६ हजारको लगानीमा पानी पुर्‍याएको हो । खेत सिन्चित हुने भएपछि व्यवसायिक खेतीमा लाग्ने स्थानीय प्रताप सिंह बुडालको योजना छ । उनले भने, ‘हाम्रो खेतमा कल्पना नै नगरेको पानी पुगेको छ । आगामी दिनमा उन्नत जातका तरकारी, फलफुल उत्पादन गरि व्यवसायमा लाग्छौं ।’

सिँचाई अभावले उब्जनी हुन छोडेपछि यहाँका करिब १ दर्जन स्थानीय बसाई सरिसकेका छन् । विगतमा गहुँ मकै छरे पनि आकाशे पानीको भर पर्ने उनीहरु अहिले पानी आएसँगै खुसी भएका छन् । स्थानीय शान्ति बुडालले भनिन्, ‘हाम्रो ठाउँ निकै गर्मी हुने ठाउँ हो । मेहनत गरेर गहुँ, मकै छरे पनि सबै सुकेर जाने गरेको थियो । बिउका लागिसमेत अन्न फलाउन सकिँदैनथ्यो । तर अब हाम्रो बाँझो जमिनसमेत सिन्चित हुने भएकाले खुसी छौं ।’

रुडेश बैतडीद्धारा सञ्चालित ट्रोसा परियोजनाले यसअघि तिर खडेनीमा लिफ्टिङ प्रणालीको सिँचाई आयोजना बनाएको छ । उक्त परियोजनाको मुख्य उद्देश्य अन्तरदेशीय सीमा नदी तटीय क्षेत्रका बासिन्दाको जिविकोपार्जन र आर्यआर्जन वृद्धि गर्ने रहेको रुडेशका कार्यकारी निर्देशक गोबिन्दराज जोशीले बताए । उनले भने, ‘चार देशहरु नेपाल, भारत, बंगलादेश र म्यानमारका अन्तरदेशीय नदीका ४ जिल्लाका लागि ट्रोसा परियोजना लागु भएको छ । यो परियोजनाले अन्तरदेशीय नदी तटीय क्षेत्रका बासिन्दाको आयआर्जन, जिविकोपार्जन, खानेपानी र सरसफाईका क्षेत्रमा काम गर्ने गरेको छ ।’

बुरकिलमा पानी पुगेसँगै आगामी दिनमा उन्नत बिउबिजन, बोटबिरुवा र कृषि उपकरण प्रदान गर्ने दशरथचन्द नगरपालिकाकी उपप्रमु मिना चन्दले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर