तरकारी उत्पादन बढेपछि किसान हर्सित, आम्दानी राम्रो भएपछि भिसा त्यागेर खेतीमै व्यस्त — OSNepal

तरकारी उत्पादन बढेपछि किसान हर्सित, आम्दानी राम्रो भएपछि भिसा त्यागेर खेतीमै व्यस्त

LC (KTM) October 02, 2021 0

झापा, १५ असोज -झापामा तरकारीको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार बर्सेनि तरकारीको उत्पादन बढेको हो । ज्ञान केन्द्रका अनुसार २०७६/०७७ मा आठ हजार ९१७ हेक्टरमा तरकारी खेती भएको थियो । सो वर्ष एक लाख ५६ हजार ५९१ मेट्रिक टन तरकारी उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा क्षेत्रफल बढेर नौ हजार १६५ हेक्टर क्षेत्रफलमा खेती भएको थियो । उक्त क्षेत्रफलमा एक लाख ६२ हजार ५७९ मेट्रिक टन तरकारी उत्पादन भएको छ । उक्त तरकारीमा आलु समावेश छैन ।

विदेशबाट फर्किएका युवा तरकारी उत्पादनतर्फ लागेका कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । ‘तरकारीबाट आम्दानी हुन थालेपछि तरकारीमा विदेशबाट फर्किएका युवाहरूको आकर्षण छ’, उनले भने, ‘बर्सेनि खेती हुने क्षेत्रफल र उत्पादन पनि बढ्दै छ ।’

यस्तै, कोरोना महामारीले पनि गाउँमा तरकारी खेती गर्नेको संख्या बढाएको सिंहले बताए । ‘कोरोना महामारीमा शहरमा गएकाहरू गाउँ आए । कतिपयले तरकारीबाट राम्रो उत्पादन गरे’, उनले भने, ‘विदेश जानलाई तयार भएकाहरू पनि कोरोनाले जान पाएनन् । उनीहरूले पनि तरकारी खेती लगाए । आम्दानी राम्रो भएपछि कतिपय त भिसा त्यागेर खेतीमै छन् ।’

भारतमा रोजगारी गर्न गएका पनि महामारीसँगै गाउँ फर्केर तरकारी खेतीमा लागेको गौरीगंजका कृषक छत्रबहादुर कार्की बताउँछन् । ‘बजार पनि सहज छ । अहिले त अम्दानी राम्रो छ’, उनले भने, ‘रोजगारी गर्न दिल्ली गएकाहरू पनि आएर खेती गर्न थालेका छन् ।’

तर, राज्यले सहयोग नगर्दा खेती गर्न समस्या भएको भद्रपुर- १ का तरकारी उत्पादक किसान भक्त राईले बताए । वैदेशिक रोजगारीबाट फर्किएर खेती गर्न सुरु गरेका राईलाई लगानीको भने समस्या छ । ‘विदेशमा पनि यही काम गरियो । यहाँबाट आम्दानी त राम्रै हुन्छ । तर, लगानी लगाउनै मुस्किल पर्छ’, उनी भन्छन्, ‘तर, राज्यले सहयोग गर्दैन । खेती गर्न जग्गा पनि छैन । अर्काको जमिन लिजमा लिएर गरेको छु । राज्यले सबै हिसाबले सहयोग गरे हामीलाई सहज हुने थियो ।’

राईले एक बिघामा तरकारी खेती गर्दै आएका छन् । गत असारदेखि खेती गरिसकेका उनले दैनिक पाँच हजार रुपैयाँ सम्मको तरकारी बेच्ने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर