• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

हाम्रै नेपालमा जहाँ पुरुषभन्दा बढी तौल भए महिलाले विवाह गर्न पाउँदैनथे

हाम्रै नेपालमा जहाँ पुरुषभन्दा बढी तौल भए महिलाले विवाह गर्न पाउँदैनथे


  • ओएसनेपाल
  • असोज १६ २०७८, शनिबार
  • ८:४७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < ४ मिनेट
  • 6.2K
    SHARES

    तेह्रथुम, १६ असोज – प्रकृति पुजकका रूपमा चिनिएका पूर्वीपहाडी भेगमा बसोवास गर्ने लिम्बु समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रहिआएको छ । यो जातिमा जन्मदेखि मृत्युपर्यन्त ढुंगाको भूमिका र प्रयोग रहने गरेको छ । जन्म, विवाह र मृत्युजस्ता सामाजिक कार्यमा ढुंगाको प्रयोग अनिवार्य छ । त्यतिमात्र नभई कसैसँग झैं-झगडा भएर मिल्नुपर्दा, मितेरी साइनो गाँस्दा, सम्बन्ध जोड्दा वा विच्छेद गर्नुपर्दा पनि निशानी एवं प्रतीकका रूपमा ढुंगा गाड्ने परम्परा छ ।

    लिम्बु समुदायले जन्मेदेखि गर्ने हरेक काममा ढुंगालाई साक्षी राख्ने गरेका हुन् । लिम्बु मुन्धुममा यसरी साक्षी राखिने ढुंगालाई ‘मेन्दुरी प्यासाङा’ भनिन्छ। लिम्बुको आदिमकालदेखि चलिआएको यो सभ्यतालाई पुनः जागृत गराउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले ढुंगैढुंगाको पार्क अथवा चोलुङ (सिद्धि प्राप्ति) पार्क निर्माण गरेको छ । सांस्कृतिक पर्यटन प्रवर्द्धनसमेत उद्देश्य बोकेको यो पार्क पर्यटकको विशेष गन्तव्य बन्न थालेको छ ।

    लिम्बु समुदायको मौलिकतासँग जोडेर ढुंगा मात्र प्रयोग गरेर बनाइएको यो पार्कमा घुम्न तथा हेर्नका लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। यस पार्कमा विभिन्न ठाउँबाट पर्यटक आउने र अध्ययन तथा भ्रमणसमेत गर्ने गरेको लालीगुराँसका नगर प्रमुख अर्जुन माबोहाङले बताए । उनले भने, ‘लिम्बु जातिको पुरानो सभ्यता र संस्कारलाई पार्कको माध्यमद्वारा प्रतिविम्बित गराई विश्वसामु चिनाउने लक्ष्य छ ।’

    लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंगा हुन्छ । यस अर्थमा यो चोत्लुङ पार्कको विशेषता भनेकै ढुंगाको सभ्यता हो । महिलाकोभन्दा तौल बढी भएमात्र पुरुषले विवाह गर्न पाउने लिम्बु सभ्यता थियो भने पुरुषभन्दा बढी तौल भए महिलाले आजीवन कन्या बस्ने प्रचलन थियो ।

    आदिमकालदेखि आफ्नै भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज रहेको लिम्बु जातिमा ढुंगाको छुट्टै महत्व रहेको र यसको पुरातात्विक सभ्यताको भग्नावशेष जगेर्नाको अभिप्रायले यो पार्क बन्नु आफैंमा महत्त्वपूर्ण रहेको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेशकुमार सेनेहाङले बताए । ‘यस ठाउँमा एकपटक आउने जो कोहीले लिम्बु जातिको पूर्वजले चलाई ल्याएको संस्कार र रीतिलाई नजिकबाट बुझ्नेछन,’ उनले भने ।

    यो पार्कको विभिन्न भागमा अग्ला–अग्ला ढुंगाका स्तम्भ गाडिएका छन् । यसरी ढुंगा गाडिने परम्परा लिम्बु समुदायमा प्राचीनकालदेखि छ । लिम्बुहरूले जन्मेदेखि मृत्युसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात् ढुंगा गाड्छन् । आदिमकालमा लिम्बु जातिको युमा (इष्टदेवी) ले प्रयोग गरेको तान बुन्ने ठाउँ र धागो अड्याउने खम्बा यहाँ राखिनु पार्कको मुख्य विशेषता हो । यहाँ गाडिएका ढुंगाको उचाइ करिब १६ फिट छ । नजिकै ढुंगाको तराजु पनि राखिएको छ ।

    मानव सभ्यता सुरु भएपछि बिहेबारी गर्दा यही तराजुमा जोखिएर मात्र तौलअनुसार निर्णय लिनुपर्ने किंवदन्ती लिम्बु समुदायमा प्रचलित छ । महिलाकोभन्दा तौल बढी भएमात्र पुरुषले विवाह गर्न पाउने प्राचीन सभ्यता रहेको लिम्बु मुन्धुमविद्हरुको भनाइ छ ।

    पार्कमा (सिङपक्वा च्वात् लुङपक्वा च्वात्) प्राकृतिक रुपमा रहेको ढुङगा र रुपमा रहेको पवित्र पानी जुन पानीले अपवित्र काम गरेको भएपनि चोखाएर पवित्र हुने लिम्बु समुदायमा मान्यता रहँदै आएको छ । करिब ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कको पूर्वपट्टीको भागमा लिम्बु जातिको आदिम राजा ‘सावा येहाङ’ को सभ्यतालाई पुनर्निर्माण गरिने भएको छ ।

    आदिमकालको सभ्यतालाई प्रतिविम्बित गराउने सावायेहाङ पाङभे (गाउँ) मा आठवटा परम्परागत घर धमाधम निर्माण भइरहेका छन् । यहाँ मौलिक तथा ऐतिहासिक घर, युमा संग्रहालय, युमा पोखरी, देवारी घर, श्रीजंगा पुस्तकालयलगायतका भौतिक संरचनाहरु निर्माण भइरहेका छन् ।

    लिम्बु जातिको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्यसाथ निर्माण गरिएको पार्कमा जन्म, विवाह, मृत्युलगायत सामाजिक तथा सामूहिक कार्य हुँदै आएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए । ‘यो पार्कमा प्रायः दैनिकजसो कुनै न कुनै काम भइरहेको हुन्छ,’ उनले भने ।

    लिम्बु जातिको संस्कार चलाउने फेदाङमा, येवा, साम्बालगायत शास्त्रीय ज्ञान भएका मन्त्रधारीहरू पछिल्लो समय लोप हुँदै गएका छन् । यसले लिम्बु सभ्यता र संस्कार नै धरापमा परेकाले स्थानीय उत्पादन गर्ने लक्ष्य राखिएको नगर प्रमुख माबोहाङले बताए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend