अपाङ्ग कृष्णाको बुढेसकालको सहारा नै रहेनन — OSNepal

अपाङ्ग कृष्णाको बुढेसकालको सहारा नै रहेनन

LC (KTM) October 02, 2021 0

बैतडी, १६ असोज – बैतडीको दशरथचन्द नगरपालिका वडा न. १० बुरकिलकी कृष्णा बुडाल ६० बर्ष पगिन् । जन्मजात अपाङ्ग रहेकी उनी पटक्कै बोल्न सक्दिनन् । उनको सानैमा बिहे भयो । त्यो पनि अपाङ्ग व्यक्तिसँग । उनका पति दुवै खुट्टाको अपाङ्ग भएकाले हिँड्न सक्दैनथे । उनीहरुका २ छोरा पनि जन्मिए ।

कृष्णाका पतिको २० वर्ष अगाडि मृत्यु भयो । त्यसपछि छोराहरु सहारा छन् भनेर बाँचेकी कृष्णाका छोराहरु अहिले कता छन् उनलाई केही थाहा छैन ।

पतिको मृत्युपछि २ छोरा हुर्काएकी कृष्णाका छोराहरु १४ वर्ष कटेपछि रोजगारी खोज्न भारत पसेका थिए । उनका एक छोराको विगत ५ वर्षदेखि केही खबर आएको छैन भने सम्पर्कमा रहेका अर्का छोराको ७ महिनाअघि मृत्यु भएको खबर सुनियो ।

अब त कृष्णालाई कसैको सहाराको आश पनि छैन । उनी पुरानो जीर्ण भएको घरमा बस्छिन् । उनले विधवा भत्ता पाउँछिन् । त्यहीँ पैसाले दैनिक छाक टार्छिन् । भत्ताले नपुगेमा कसैको घरमा काम सघाउँछिन् र खाना दियो भने खान्छिन् । आफूले पकाउन सकेको दिन खाना पकाएर खान्छिन् नत्र भोकै बस्छिन् ।

बुढेसकालमा यसरी जीवन बिताइरहेकी कृष्णा गाउँमा भने जसले जे भन्यो त्यहीँ काम गर्छिन् । उनी इमान्दार भएकाले गाउँका सबै मान्छेहरु माया गर्छन् । अनि कहिले कुनै ठाउँमा केही कार्यक्रम भयो भने मलाई पनि लैजाउ भनेर भन्छिन् । कार्यक्रममा आउने नयाँ मान्छे सबैलाई नमस्कार गर्छिन् ।

उनलाई न दुनियासँगको कुनै मतलब छ, न त जीवन के हो भन्ने नै थाहा छ । मनमा केही कुरा होलान् तर भन्न सक्दिनन् । उनी बोल्नै सक्दिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर