विद्युत्का पोलको भाडा नतिर्नेको लाइन काटियो, इन्टरनेट तथा केबल सेवा ठप्प — OSNepal

विद्युत्का पोलको भाडा नतिर्नेको लाइन काटियो, इन्टरनेट तथा केबल सेवा ठप्प

LC (KTM) October 02, 2021 0

म्याग्दी, १६ असोज ः सम्झौता विनै विद्युत्का पोल प्रयोग गर्ने र भाडा नतिर्ने केबल तथा इन्टरनेट सेवा प्रदायकको आज म्याग्दीमा लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणको देशब्यापी कार्यक्रमअन्तर्गत सम्झौता नगरेका र भाडा नतिरेकाको फाइबर काटिदिएपछि निजी कम्पनीद्वारा सञ्चालित इन्टरनेट तथा केबल सेवा ठप्प बनेको छ ।

प्राधिकरणको म्याग्दी वितरण केन्द्रले नेपाल विद्युत् प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन÷इन्टरनेट÷केबल÷टिभी सेवा सञ्चालन गरेका सेवा प्रदायकलाई यही असोज १५ गतेभित्र सम्झौता, नवीकरण र बक्यौता बुझाउन ताकेता गर्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

केन्द्रका प्रमुख प्रशान्तकुमार झाले तोकिएको समयभित्र सम्झौता, नवीकरण र बक्यौता नतिर्ने नेपाल टेलिकमबाहेक सात वटा कम्पनीको लाइन काटिएको जानकारी दिनुभयो । प्राधिकरणका कर्मचारीले बेनीको हुलाकचोकमा रहेको विद्युत्को पोलमा राखिएको फाइबर काटेका थिए । “म्याग्दीमा प्राधिकरणको पोल प्रयोग गरेका सेवा प्रदायक सम्झौता, नवीकरण र बक्यौता तिर्न नआएपछि केन्द्रको निर्देशनअनुसार लाइन काटेका हौँ”, उहाँले भन्नुभयो, “सेवा प्रदायक कम्पनीको कारण लाइन काट्न बाध्य भएका हौँ ।”

म्याग्दीमा दुई वटा केबल टिभी र पाँच वटा इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेका छन् । यसअघि नगरपालिका क्षेत्रमा प्रतिपोल रु १०० र गाउँपालिका क्षेत्रमा रु ५० का दरले वार्षिक भाडा तिर्ने गरेका थिए । निजी क्षेत्रको इन्टरनेट जोडेका सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, सङ्घसंस्था, निजी उपभोक्ताको सेवा अवरुद्ध बनेको छ । केबल टिभी सेवा पनि ठप्प भएको छ । केबल तथा इन्टरनेट सेवा प्रदायकले प्राधिकरणले तोकेको पोलको नयाँ भाडादर महँगो र अव्यावहारिक भएकाले सम्झौता र नवीकरण नगरेको प्रक्रिया दिएका छन् ।

नयाँ दरअनुसार नगर र गाउँपालिका क्षेत्रका ३३÷११ केभी र सोभन्दा कम क्षमताको लाइनको विद्युत् संरचना प्रयोग गरेवापत प्रतिकिलोमिटर वार्षिक रु सात हजार भाडा तिर्नुपर्छ । पब्लिक भिजन केबुल सहकारी संस्थाका प्रबन्धक नवराज पौडेलले प्राधिकरणको भाडादर पहाडी र हिमाली जिल्लामा अव्यावहारिक र महँगो भएकाले समायोजन नभएसम्म सम्झौता नवीकरण नगर्ने सामूहिक निर्णय भएको बताउनुभयो । देशभरका केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीले भाडा समायोजन गर्न विद्युत् प्राधिकरणलाई दबाब दिइरहेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर