यो वर्ष पनि एसइइ उत्तीर्ण गरेका ३५ जना विद्यार्थीलार्ई छात्रवृत्ति — OSNepal

यो वर्ष पनि एसइइ उत्तीर्ण गरेका ३५ जना विद्यार्थीलार्ई छात्रवृत्ति

LC (KTM) October 02, 2021 0

विगत ११ वर्षदेखि हेलम्बु एजुकेशन एण्ड लाइब्लिहुड पार्टनरशिप (हेल्प)ले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरुबाट एसइइ उत्तीर्ण गरी कक्षा ११ र १२ पढ्न विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ति दिंदै आएको छ । यो वर्ष पनि ३५ जना विद्यार्थीलाई २ वर्षका लागि विभिन्न संकायमा अध्ययन गर्नका निम्ति मद्दत पु¥याउन छात्रवृत्ति दिएको छ । छनोटमा पर्नका लागि हरेक विद्यार्थीसँग तीनवटा निबन्धसँंगै विद्यालय र सम्बन्धित वडाको सिफारिशसहित अन्तर्वार्ता लिइएको थियो । यो वर्ष २५ विद्यालयका १५० जना विद्यार्थीले आवेदन दिएका थिए । छात्रवृत्तिमा परेका ३५ जना विद्यार्थीले जनही रु. ५०,००० बराबर सहयोग पाउँनेछन् । यसका अतिरिक्त यो बर्ष कोभिड महामारी र बाढी–पहिरोका कारण पीडित थप २० जना विद्यार्थीलाई जनही रु. १५,००० का दरले एक वर्षे बर्सरी (राहत सहयोग) दिइएको छ । छात्रवृत्ति पाएका ३५ जनाबाहेक सातकन्या माविकी संगीता तामाङलाई ५५ हजार रुपैयाँबराबरको विशेष छात्रवृत्ति प्रदान गरिएको छ ।

छात्रवृत्तिका निम्ति आवेदन दिन निर्धारित समय सकिसकेको अवस्थामा पनि उहाँको पारिवारिक पृष्ठभूमिलाई ख्याल गरी विशेष छात्रवृत्ति दिइएको हो । अस्वस्थ बुवाआमा, कमजोर परिस्थिति भएपनि पढ्ने उहाँको धोको पूरा गर्न हेल्पले विशेष छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति छनोटका लागि हेल्पले ईभा मानन्धर, सीता थापा, रञ्जना गौतम, निरुता श्रेष्ठ र कर्चुङ्ग शेर्पाको एक समिति बनाई करिव एक महिनासम्म आवेदन पढ्नेदेखि अन्तर्वार्ता लिनेसम्मको व्यवस्था मिलाएको थियो ।

काठमाडौंको धुम्बाराहीस्थित अकमा होटलमा एक कार्यक्रम गरी आज असोज १६ गते यो छात्रवृत्ति नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको उपस्थितिमा वितरण गरिएको हो । काठमाडौंको धुम्बाराहीस्थित अकमा होटलमा एक कार्यक्रम गरी आज असोज १६ गते यो छात्रवृत्ति नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको उपस्थितिमा वितरण गरिएको हो । कार्यक्रममा डा. कोइरालाले ‘विद्यार्थीहरुभविस्यको कर्णधार रहेकोले मेहनत गरेर अध्ययन गर्न आग्रह गर्नुभयो .। छात्रवृत्ति वितरण समारोहमा संस्थाका सहयोगी पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र अर्का सहयोगी नीतिशाला नेपालका अध्यक्ष शिशिर खनालले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभयो । अर्का सहयोगी नीतिशाला नेपालका अध्यक्ष शिशिर खनालले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभयो ।

कार्यक्रममा हेल्पले यो वर्ष संस्थाका संस्थापकमध्ये एक र श्री नुर्बुलिंग माणेचौर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हेलम्बु–२ सुगेन्चे निवासी श्री छिरिङ्ग लामालाई ‘शैक्षिक सम्मान’ द्वारा विभूषित गरेको थियो । छिरिङ्गले १० वर्षदेखि निरन्तर रुपमा श्री नुर्बुलिंग माणेचौर माध्यमिक विद्यालयको चौतर्फी शैक्षिक विकासको लागि उल्लेखनीय योगदान दिँदै आउनुभएको छ । झण्डै बन्द हुने अवस्थामा पुगेको सो माविले उहाँकै नेतृत्व र समुदायको पहलबाट अहिले हेलम्बुमा सफल विद्यालयको चिनारी पाएको छ । यस्तै, कार्यक्रममा हेल्पले मेलम्चीघ्याङ्गका प्रधानाध्यापक श्री पूर्ण गौतम, यांग्रिमा विद्यालयका संस्थापक श्री गोपाल लामा, श्री रिसांकुुमाणे आधारभूत विद्यालयका शिक्षक श्री तेजनाथ भण्डारी र श्री भोटेनाम्लाङ्ग माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री सुके तामाङ्गलाई अघिल्ला वर्षहरुमा शैक्षिक सम्मान गरेको थियो ।

छात्रवृत्ति पाउने सबै विद्यार्थीलाई हेल्पले आर्थिक सहयोगबाहेक दुई वर्षसम्म नेतृत्व विकास तथा सीपसम्बन्धी विभिन्न अवसरहरु सिर्जना गर्नेछ । यो वर्ष छात्रवृत्ति पाएका ४ जना विद्यार्थीहरुलाई भने हेल्पले अर्को गैरसरकारी संस्था समानता फाउण्डेशन र दोस्टेलसँग मिली खाना–बस्नका लागि पूरै व्यवस्था मिलाएको छ ।
हेल्पबाट हालसम्म ५३० जना विद्यार्थीलाई पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गरिसकिएको छ । जसमध्ये आजको कार्यक्रम सञ्चालिका मेलम्ची–९ बाँसबारीकी सुष्मिता तामाङ पूर्व छात्रवृत्ति पाएका विद्यार्थीहरुमध्ये एक हुनुहुन्छ । उहाँ हाल जुगल गाउँपालिकाको हगाममा स्वास्थ्यकर्मीका रुपमा काम गर्नुहुन्छ । यस्तै, आजको स्वागत मन्तव्य दिनुहुने पूर्णी तामाङ पनि हेल्पको पूर्व छात्रवृत्ति विद्यार्थी हुनुहुन्छ ।

हाल उहाँ काठमाडौंमा एक कार्गो कम्पनीमा काम गर्नुहन्छ । राजनीतिमा रुचि राख्नुहुने पूर्णी एक साताअघि मात्रै आफ्नो वडाबाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित हुनुभएको थियो । यसैगरी, सेन्ट जेवियर्सबाट १२ कक्षाको जाँच दिएर बस्नुभएकी दुवाचौरकी सन्ध्या पुरीको डाक्टर बन्ने चाहना छ । केही वर्ष अघि उहाँले पनि हेल्पबाट छात्रवृत्ति पाउनुभएको थियो ।

हेल्पले वर्षेनी प्रदान गर्ने छात्रवृत्ति तथा शैक्षिक कार्यक्रमहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता डा. शेखर कोइराला, प्रतिनिधिसभाका माननीय सांसदहरु गगन थापा, डा. मिनेन्द्र रिजाल, शेरबहादुर तामाङ्ग, बागमति प्रदेशसभा माननीय सांसदहरु युवराज दुलाल, माननीय निमा लामा, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्षद्वय डा. स्वर्णिम वाग्ले र डा. गोविन्द पोख्रेल, शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल र उपसचिव गेहनाथ गौतम, नेपाली चलचित्रका महानायक राजेश हमाल, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अभियन्ताहरु स्वस्तिका श्रेष्ठ, श्रृष्टि केसी, लेक्स लिम्बु, हवाई कप्तान विजय लामा, विमान चालक श्रवन रिजाल, नायिका रेखा थापा र ऋचा शर्मा, गायक यश कुमार, हास्य कलाकार सन्दिप क्षेत्रीलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी भई विद्यार्थीहरुलाई प्रेरणादायी हौसला प्रदान गर्नुभएको थियो ।

छात्रवृत्तिबाहेक हेल्पले ‘साथी शिक्षक’ नामक कार्यक्रमद्वारा आधारभूत तहको शैक्षिक अवस्थामा गुणात्मक परिवर्तन ल्याउन काम गर्दै आएको छ । हाल हेल्पले स्थानीय सरकारसँग साझेदारी गरी मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकाका १० विद्यालयहरुमा १८ जना ‘साथी शिक्षक’हरुलाई पदस्थापन गरेको छ । यसैगरी, हेल्पले नेपालका १५ जिल्लाहरुमा १८,००० भन्दा धेरै बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । विगतमा हेल्पले भूकम्प पछि सिन्धुपाल्चोकमा १३ विद्यालयहरुको पुनर्निर्माण गर्न प्रत्यक्ष सहयोग गरिसकेको छ ।

हेल्पका सह–संस्थापक जिमी लामाले २० बर्ष अघि एसएलसी पछि काठमाडौंमा १०+२ पढ्न आउँदा आफैँले भोगेको अनुभव, त्यतिबेला मिलेको सहयोग र पछि हेलम्बुका केही विद्यार्थीहरुले एसएलसीमा राम्रो अंक ल्याएरपनि आर्थिक अभावका कारण पढाइ छोड्ने अवस्थामा पुग्दा ‘उनीहरुलाई केही न केही सहयोग पु¥याऊँ’ भन्ने उद्देश्यसँग हेल्पको यो अभियान गाँसिएको छ । त्यही सानो प्रयासले आज एक दशकभन्दा लामो यात्रा तय गरिसकेको छ ।

अन्तर्राष्ट्रिय विकाससम्बन्धी विषयमा बेलायतको युनिभर्सिटी अफ ससेक्सबाट स्नातकोत्तर गरेका लामा भन्नुहुन्छ, ‘प्रत्येक विद्यार्थीले सही मौका अनि उचित प्रेरणा पाउने हो भने उसको पारिवारिक, आर्थिक र भौगोलिक पृष्ठभूमि सफलताको लागि बाधक बन्दैन । यस्तो छात्रवृत्ति सानो तर पहिलो खुड्किला हुन सक्छ ।’ हाल हेल्पका कार्यकारी निर्देशक लामाले विश्वका २५ भन्दा धेरै देशका युवाहरुसँग विभिन्न समय, कार्यक्रम र अवसरहरुमा काम गरेर अनुभव बटुलिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर