कोरोना नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीबाट एक महिनाको तलब जम्मा गर्ने घोषणा



विराटनगर – प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ । सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ ।

कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एकएक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली काङ्ग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले पन्ध्रपन्ध्र दिनको तलब जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो । (रासस)

अटेर गर्ने प्रहरी नियन्त्रणमाः ४७ जना क्वारेन्टाइनमा
भारतबाट नेपाल छिर्ने ४७ नेपालीलाई रानी नाका विराटनगरबाट मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

यसैगरी कोरोनाबाट नागरिकलाई सुरक्षित पार्न सरकारले घोषणा गरेको लकडाउनलाई अटेर गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । यस्तै लकडाउन उल्लङ्घन गर्ने २३४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । (रासस)ः

Comment